महालेखापरीक्षक कार्यालयलाई रणनीतिक कार्ययोजना पेस गर्न निर्देशन


काठमाडौँ – प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले बेरुजुलाई शीघ्र फर्छ्यौट गरी आर्थिक अनुशासन र वित्तीय सुशासन उत्तरदायित्वको सुनिश्चित गर्ने गरी रणनीतिक कार्ययोजनाको मस्यौदा तत्काल समितिमा पेस निर्देशन दिएको छ ।

सार्वजनिक लेखा समितिको बिहीबारको बैठकले हरेक वर्ष बेरुजु अंश बढ्दै गइरहेको भन्दै महालेखापरीक्षकको कार्यालयसँग रणनीतिक योजना माग गरेको हो ।

समिति सभापति ऋषिकेश पोखरेलले महालेखापरीक्षकको कार्यालयलाई हरेक वर्ष बेरुजुको अंश बढ्दै गइरहेको अवस्थाले राष्ट्रिय स्तरमा मात्र नभई अन्तर्राष्ट्रिय स्तरमै वित्तीय अराजकताको सन्देश प्रवाह भएको भन्दै रणनीतिक योजना पेस गर्न भनेका हुन् ।

समिति सभापति पोखरेलले प्रमाण, कागजात वा स्वीकृती गर्ने पदाधिकारीको स्पष्ट विवरण प्रतिवेदनमा समावेश गर्न गराउन पनि निर्देशन दिएका छन् । उनले एउटै विषयमा लेखापरीक्षण पदाधिकारी कसैले बेरुजु उठाउने कसैले नउठाउने प्रवृत्ति अन्त्य गर्न र बेरुजु उठाउने कार्यमा एकरूपता कायम गर्न गराउन आगामी दिनमा लेखापरीक्षण मापदण्डलाई अनिवार्य पालना गरी मनोगत आधारमा बेरुजु उठाउने कार्यमा नियन्त्रण गर्न पनि महालेखा परीक्षकको कार्यालयलाई निर्देशन दिएका छन् ।

समितिले निश्चित बजेट भएको कार्यालयको लागि बेरुजु उठाउँदा सो बजेट भन्दा बढी नहुने गरी जुन कार्यको लागि बजेट खर्च गरिएको हो सो कुरा स्पष्ट गरेर मात्रै राख्न निर्देशन दिएको छ ।

प्रतिक्रिया