जेठ १३ काठमाडौंमा कांग्रेसले जनप्रदर्शन गर्ने


काठमाडौं – प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले यही जेठ १३ गते आइतबार दिउँसो काठमाडौंमा जनप्रदर्शन गर्ने भएको छ । सानेपामा बुधबार बसेको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले यस्तो निर्णय गरेको प्रवक्ता डा। प्रकाशशरण महतले दिए ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मुछिएको अर्बौँ रुपैयाँ सहकारीको बचत दुरुपयोग प्रकरणमा छानबिन गर्न नमानेको निष्कर्षसहित आन्दोलन थाल्न लागिएको प्रवक्ता डा। महतले बताए । कांग्रेस बैठकमा यसअघि यही शुक्रबारदेखि सडक आन्दोलनमा जाने प्रस्ताव भएको थियो । यद्यपि केही दिनलाई सारिएको आन्दोलनमा उपत्यकाको सबै शक्ति परिचालन गरिने भएको छ ।

काठमाडौंकेन्द्रित आन्दोलनका लागि उपत्यकाका १५ वटै निर्वाचन क्षेत्रमा केन्द्रीय प्रतिनिधि पठाउने निर्णय बुधबार बसेको केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकले गरेको हो । सहकारी ठगीको आरोप लागेका गृहमन्त्री लामिछानेमाथि संसदीय छानबिन माग गर्दै कांग्रेस सदनमा आन्दोलित छ। उसले एक महिनाभन्दा बढी समयदेखि सदन अवरुद्ध गरिरहेको छ ।

 

प्रतिक्रिया