नीति तथा कार्यक्रममाथि तीन संशोधन प्रस्ताव दर्ता


काठमाडौँ – आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रममाथि प्रतिनिधि सभामा दुई वटा र राष्ट्रिय सभामा एउटा संशोधन प्रस्ताव दर्ता भएको छ ।

मंगलबार बसेको दुवै सभाको बैठकले बुधबार नीति तथा कार्यक्रममाथि संशोधन प्रस्ताव दर्ता गर्न समय छुट्टाएको थियो । निर्धारित समयमा प्रतिनिधि सभामा दुई वटा र राष्ट्रिय सभामा एउटा संशोधन प्रस्ताव दर्ता भएको हो ।

प्रतिनिधि सभामा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सांसद प्रेम सुवाल र राष्ट्रिय जनमोर्चाका चित्रबहादुर केसीले संशोधन प्रस्ताव दर्ता गरेका छन् । संसद् सचिवालयका अनुसार उनीहरूले नीति तथा कार्यक्रमका विभिन्न बुँदामा संशोधन प्रस्ताव सहितको सूचना दर्ता गरेका हुन् ।

राष्ट्रिय सभामा राष्ट्रिय जनमोर्चाका तुलप्रसाद विश्वकर्माले संशोधन प्रस्तावको सूचना दर्ता गरेका छन् । जेठ १ गते संघीय संसद्‌मा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । आउँदो शुक्रबार बस्ने दुवै सभाको बैठकमा नीति तथा कार्यक्रममाथि छलफल गर्ने र पारित गर्ने तयारी छ ।

राष्ट्रपतिले नीति तथा कार्यक्रम प्रस्तुत गर्दा प्रमुख प्रतिपक्षी नेपाली काँग्रेससहितका विपक्षी दलहरूले संसद् अवरोध गरेका थिएनन् । तर त्यसपछि बसेको बैठकमा विपक्षी दलहरूको निरन्तर अवरोध छ ।

संसद्‌मा अवरोध गरिरहेका काँग्रेससहित राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी लगायतका दलहरूले पनि नीति तथा कार्यक्रममाथि संशोधनको सूचना दिएका छैनन् ।

प्रतिक्रिया