भरतपुर महानगरपालिका र चीनको छोङ्ग छिङ्ग सिटीबीच भगिनी सम्बन्ध कायम


काठमाडौँ – भरतपुर महानगरपालिका र चीनको छोङ्ग छिङ्ग सिटी बीच भगिनी सम्बन्ध कायम भएको छ । बुधबार एक कार्यक्रमका बीच भरतपुर महानगरपालिका प्रमुख रेनु दाहाल र छोङ्ग छिङ्ग सिटीका मेयर हुहङ्ग ह्वाले सम्झौता-पत्रमा हस्ताक्षर गरेका हुन्।

सम्झौतामा दुवै पालिकाले साझा समृद्धि र विकासलाई अभिवृद्धि गर्न व्यापार लगानी, सहरी व्यवस्थापन, संस्कृति, पर्यटन, शिक्षा, कृषि, विज्ञान तथा प्रविधिलगायतका क्षेत्रमा सहकार्य गर्ने जनाइएको छ ।

दुई पक्षबीचको मैत्रीपूर्ण आदान–प्रदान, सहयोगलाई निरन्तर अगाडि बढाउन, सरकारी विभागहरू र तहहरूमा सुदृढ गर्न निरन्तर सम्पर्क गर्ने जनाइएको छ । सोही कार्यक्रममा छोङ्ग छिङ्ग, अदिस अब्बा, सिभ्ली, भरतपुर र उत्तर ढाकाबीच पनि हस्ताक्षर भएको थियो ।

यसअघि भरतपुर महानगरपालिका प्रमुख दाहाल र छोङ्ग छिङ्ग सिटीका पार्टी सेक्रेटी प्रमुख यान जाईजुनबीच भेटवार्ता भएको थियो । सो अवसरमा दुई देश बीचको सम्बन्धलाई नयाँ उचाइमा लैजान भरतपुर र छोङ्ग छिङ्ग बीचको भगिनी सम्बन्धले थप मद्दत पुराउने विश्वास गरिएको थियो ।

दुई सहरका नागरिक स्तरको सम्बन्ध कायम गर्दै एक अर्काको विकासमा सहयोग पुराउने बारेमा छलफल पनि भएको थियो । सो अवसरमा प्रमुख दाहालले भरतपुरको संक्षिप्त परिचय दिँदै भरतपुरको विकास र ठूला पूर्वाधार निर्माणमा लगानी गर्न छोङ्ग छिङ्ग सरकार र उद्योगीलाई आग्रह गरिन् ।

भरतपुर महानगरपालिका र छोङ्ग छिङ्गबीच अन्तर्राष्ट्रिय मित्रवत् सम्बन्ध र आपसी सद्भाव वृद्धि गर्ने उद्देश्यले आयोजित सम्मेलनमा सहभागी हुने अवसर प्रदान गरेकोमा खुसी व्यक्त गरिन् । उनले हिमालयको देश नेपालको मध्य भागमा अवस्थित सुन्दर नगरी भरतपुर महानगरपालिकाको तर्फबाट विशेष आभार प्रकट गरिन् ।

प्रतिक्रिया