

प्रेमी भेट्न गएकी १४ बर्षिया किशोरीको नौटंकीः अपहरण र बलात्कार भएको झूठो बयान!

कञ्चनपुर– एक जना १५ बर्षिय किशोरलाई कञ्चनपुर प्रहरीले जबरजस्ती करणीको मुद्दा दायर गर्न लागेको छ। प्रेमिकाको झूठो बयानबाजीले उनले उक्त मुद्दा खेप्नुपर्ने बाध्यता आइ लागेको हो।
पुनर्वास नगरपालिका–२ मोतिबस्ती बस्ने १४ वर्षीया किशोरी प्रेमीलाई भेट्न पुगिन् तर घर फर्किन ढिलो भएपछि झूठो बयान दिइन्– तीन जना मोटरसाइकलमा आए अपहरण गरी जंगलमा लगेर बलात्कार गरे!
भर्खरै भागरथी भट्ट प्रकरण सल्टाएको, निर्मला पन्त प्रकरणमा गहन अनुसन्धान जारी राखेको प्रहरीका लागि यस प्रकरणलाई टुंगो लगाउनु थियो, मिहिन अनुसन्धान थाल्यो।
एक अधिकारी भन्छन्,‘यो त सबै झूठो भएको प्रमाण हामीले फेला पारेपछि किशोरीले फेरि बयान बदलेकी छन्।’
उनले ३ जनाले अपहरण गरेको र बलात्कार गरेको बताएकी थिइन् जसमा त्यस्तो घटना केही पाइएन। बरु, उनले ति १५ बर्षिया प्रेमीलाई भेटेकोचाहिँ प्रहरीले पुष्टि गरिदियो।
फेरि उनले परिवार र प्रहरीका अगाडि बयान दिइन्,‘त्यस्तो केही भएको थिएन म प्रेमी भेट्न जाँदा ढिलो भएपछि डरले त्यसो भनेकी हुँ।’
तर सकसमा परेको प्रहरीले प्रेमीलाई नियन्त्रणमा लिएपछि यी सबै विवरण सतहमा आएको हो। पक्राउ गरेर ल्याइएका किशोरलाई मुद्दा चलाउनुपर्ने नै बाध्यता प्रहरीलाई परेको छ।

