काठमाडौं मेयर कपको उपाधि पुलिसलाई, नेपाल एपिएफ ८ विकेटले पराजित


काठमाडौं – काठमाडौं महानगरपालीकाको आर्थिक सहयोगमा नेपाल क्रिकेट संघ (क्यानले) आयोजना गरेको काठमाडौं मेयर कपको उपाधि विभागीय टोली नेपाल पुलिस क्लबले हात पारेको छ ।

शनिबार भएको फाइनल खेलमा पुलिसले अर्को विभागीय टोली नेपाल एपिएफ क्लबलाई ८ विकेटले हराएको हो । एपिएफले दिएको १०६ रनको लक्ष्य पुलिसले २४।१ ओभरमा मात्र २ विकेट गुमाउँदै भेट्टायो ।

पुलिसलाई सहज जित दिलाउन सुनिल धमलाले अर्धशतकीय पारी खेले । ५९ रनमा अविजित रहेका उनले ८२ बलमा ७ चौका र २ छक्का प्रहार गरे । कुशल भुर्तेल र अनिल शाहले समान १५–१५ रनको योगदान दिए । दिपेन्द्रसिंह ऐरी ११ रनमा अविजित रहे । एपिएफका भुवन कार्की र अविनाश बोहराले समान १–१ विकेट लिए ।

त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको एपिएफ २९।४ ओभरमा सबै विकेट गुमाउँदै १०५ रनमा समेटिएको थियो । उसका लागि कुनैपनि ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकेनन् । वसन्त रेग्मीले सर्वाधिक २२ रनको योगदान दिए । अमरसिंह रौटेला र सन्दीप जोराले समान १८–१८, भुवन कार्कीले १४, अविनाश बोहराले १२ रनको योगदान दिँदा अन्य कुनै ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

एपिएफलाई सस्तैमा समेट्न पुलिसका गुलसन झा र सागर ढकालले ४–४, पवन सरार्फ र ललित राजवंशीले समान १–१ विकेट लिए । विजेता बनेको पुलिसले ५ लाख प्राप्त गर्दा उप विजेतामा सिमित बनेको एपिएफले ३ लाखमा चित्त बुझाएको छ ।

फागुन २२ देखि सुरु भएको प्रतियोगितामा गत महिना सम्पन्न प्रधानमन्त्री कपमा सेमिफाइनल प्रवेश गरेका चार टोली ९ त्रिभुवन आर्मी क्लब, नेपाल एपिएफ क्लब, नेपाल पुलिस क्लब र बागमती प्रदेश० सहित काठमाडौं मेयर ११ को सहभागिता थियो ।

प्रतिक्रिया