

हात्तीपाइलेको औषधी खाएपछि एक वृद्धाको मृत्यु, अनुसन्धान हुँदै

काठमाडाैं- झापामा हात्तीपाइले रोग विरुद्धको औषधी खाएपछि एकजना वृद्धाको मृत्यु भएको छ ।
जिल्लाको भद्रपुर नगरपालिका-१ का ६५ वर्षीया महिलाको हात्तीपाइले विरुद्धको औषधी सेवन गरेपछि स्वास्थ्यमा समस्या आएको थियाे । बिहीबार उनलाई अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
अहिले मृतकको शव पोस्टमाटमको लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको बताइएको छ ।
तर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने हात्तीपाइले विरुद्धको औषधी सेवनकै कारण बिरामीको मृत्यु भएको वा अन्य कारणले मृत्यु भएको हो भन्ने विषय अहिलेसम्म पुष्टि नभएको जनाएको छ । उक्त घटना बाहिरिएलगत्तै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा टंक बाराकोटीको सहितको टिम अनुसन्धान गर्न झापा पुगेको बताइएको छ ।
स्वास्थ्य मन्त्रालयले गत आइतबार झापासहित ७ वटा जिल्लामा हात्तीपाइले विरुद्धको औषधि खुवाउन सुरु गरेको थियो ।

