

सर्वोच्चले राजकुमार तिमल्सिनालाई बयानका लागि बोलायो

काठमाडौँ – सर्वोच्च अदालतले सिधा कुरा डटकमले प्रसारण/प्रकाशन गरेको फेक अडियो प्रकरणबारे राजकुमार तिमल्सिनालाई बयानका लागि बोलाएको छ ।
न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र महेश शर्मा पौडेलको इजलासले बिहीबार सिधा कुरा डटकमका प्रकाशक युवराज कँडेलको बयान लिएपछि स्टिङ अप्रेसन गर्ने भनिएका तिमल्सिनालाई बयानका लागि बोलाउने आदेश गरेको हो ।
तिमल्सिना अख्तियार दुरुपयोग अनुसन्धान आयोगका लागि स्टिङ अप्रेसन गर्ने र सरकारी साक्षी बस्ने लगायतका काममा विगतमा संलग्न भएका व्यक्ति हुन् । प्रकाशक कँडेलले बयानका क्रममा अडियोको स्रोत तिमल्सिना भएको भनेपछि उक्त आदेश आएको हो ।
सिधा कुराका सम्पादक नवीन ढुङ्गाना र प्रकाशक कँडेललाई बिहीबार अदालतको अवहेलना मुद्दा बयानका लागि बोलाइएको थियो । बिहीबार कँडेलको मात्रै बयान सकिएको छ । ढुङ्गानालाई शुक्रबार बयानका लागि बोलाइएको छ ।

