एमालेको केन्द्रीय कमिटीको बैठक चैत १ गते


काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले नयाँ परिस्थितिबारे छलफल गर्न आगामी चैत १ गते केन्द्रीय कमिटीको बैठक बस्ने तयारी गरेको छ ।

माओवादी केन्द्र र एमाले एकीकरण गरेर नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेर सत्तामा रहेको पार्टी गत २३ गते सर्वोच्च अदालतले ब्युँताइदिएपछि नयाँ परिस्थितिबारे छलफल गर्न पार्टीको केन्द्रीय कमिटी बैठक डाकिएको केन्द्रीय कार्यालयका सचिव ईश्वरी रिजालले जानकारी दिए ।

सचिव रिजालले चैत १ गते केन्द्रीय कमिटी बैठक बस्ने गरी छलफल चलिरहेको तर अन्तिम निष्कर्षमा पुग्न बाँकी रहेको बताए ।

सर्वोच्च अदालतले एकीकरण बदर गर्दै एमाले र माओवादी केन्द्रलाई ब्युँताइदिएपछि एमालेको केन्द्रीय समितिको बैठक बस्न लागेको पहिलो पटक हो ।

बैठकमा पछिल्लो राजनीतिक परिस्थितिका साथै पार्टी सुदृढीकरणका विषयमा छलफल हुने नेताहरुले बताएका छन् । एमाले व्युँतिएपछि पनि पार्टीका नेताहरुबीच सम्वादहीनताको अवस्था छ । खासगरी माधव नेपाल पक्षले आफूहरुसँग छलफल र सल्लाह नगरी अध्यक्ष केपी शर्मा ओली अघि बढेको गुनासो गर्दै आएको छ ।

केन्द्रीय कमिटीको बैठकले आन्तरिक विवाद समाधान गर्दै पार्टीलाई नयाँ ढंगले अगाडि बढाउने र अन्य पार्टीबाट आएकाहरुलाई उचित जिम्मेवारी दिन नेतृत्वलाई म्यान्डेट दिने अपेक्षा गरिएको छ ।

केन्द्रीय कमिटीमा अध्यक्ष ओली स्पष्ट बहुमतमा छन् । ओली पक्षीय नेता सुवास नेम्वाङले माओवादी केन्द्रको धारमा लागेर सरकारविरुद्ध आन्दोलन गरेका माधव नेपाल र झलनाथ खनाल पक्षलाई पार्टीमा सम्मानजनक व्यवहार हुने बताएका छन् ।

अदालतको फैसलासँगै तत्कालीन नेकपासँग छुट्टिने क्रममा एमालेको खनाल–नेपाल समूहका नेताहरूले ओली प्रवृत्तिविरुद्ध पार्टीभित्रै संघर्ष गर्ने बताएका थिए । अदालतको फैसलाले पुरानै पार्टीको हैसियत थमौती गरे पनि अध्यक्ष ओलीपक्षीय नेता–कार्यकर्ताले नेपाल पक्षलाई कर्नरमा पार्ने गरी गतिविधि गरेको भन्दै यो समूह रुष्ट बनेको छ ।

 

प्रतिक्रिया