
सुदूरपश्चिममा मुख्यमन्त्रीको हानथापले धरापमा सत्ता गठबन्धन !
काठमाडाैं- आइतबार कांग्रेस, नाउपा (रेशम), समाजवादी र राप्रपाको समर्थनमा नाउपाका लक्ष्मणकिशोर चौधरीलाई मुख्यमन्त्रीमा समर्थन गरी दाबी पेस गरिएको थियाे । अर्कोतिर, एमाले, माओवादी, स्वतन्त्र सांसद र नाउपा (रञ्जिता)को समर्थनमा नाउपाकै कैलाश चौधरीलाई मुख्यमन्त्रीको लागि दाबी पेस गरिएको छ ।
फरक–फरक दलको समर्थनमा एक दलबाट मुख्यमन्त्री दोहोरो दावी परेपछि प्रदेश प्रमुखले कानुनी परामर्श र अध्ययन गरेर मात्रै निर्णय लिने बताएपछि मुख्यमन्त्री नियुक्तिमा ढिलाइ भएको भइरहेकाे छ ।
५३ सदस्यीय सुदूरपश्चिममा बहुमतको लागि २७ जना सांसदको आवश्यक पर्छ । सुदूरपश्चिम प्रदेशसभामा नेकपा एमालेका १०, माओवादी केन्द्रका सभामुखबाहेक १०, नागरिक उन्मुक्तिका ६ र एकीकृत समाजवादीका ४ जना सांसद छन् । त्यस्तै, राप्रपाका एकजना र एकजना स्वतन्त्र सांसद छन् ।
मुख्यमन्त्रीमा दावी गर्ने नागरिक उन्मुक्ति पार्टीका दुवैजनाले आफ्नो पार्टीका ६ जनाको समर्थन रहेको बताएका छन् । मुख्यमन्त्रीमा दुईजनाको दाबी परेपछि प्रदेश प्रमुख नजिर मियाँ भौतिक उपस्थिति गराएर सांसदको सनाखत गर्ने तयारी गरिरहेका छन् ।
नागरिक उन्मुक्तिको विवादले सुदूरपश्चिम प्रदेश सरकार गठनमा अन्योलसँगै केन्द्रको सत्ता गठबन्धनमा पनि खटपट ल्याएको छ । दुई सांसदले मुख्यमन्त्रीमा दाबी पेस गरेपछि नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले हिजो नै प्रदेश प्रमुखको कार्यालय पुगेर पार्टीको आधिकारिक उम्मेदवार कैलाश चौधरी भएको बताएकी थिइन् ।
यता पूर्वसहमतिअनुसार सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्री नपाएको भन्दै एकीकृत समाजवादीले सत्तागठबन्धनमा बिद्रोह गरेको हो । त्याे बिद्रोहले सत्ता गठबन्धन धरापमा परेकाे देखिएकाे छ ।



कागजपत्र |
