

डिएसपी कुँवरलाई फसाउन आयोगको प्रतिवेदनमा झुट्टा प्रमाण !

काठमाडौं – सुनको अवैध पैठारी (तस्करी) नियन्त्रणसम्बन्धी जाँचबुझ आयोगले बदनियत राखेर नेपाल प्रहरी केन्दिय अनुसन्धान ब्यूरोका प्रहरी नायब उपरिक्षक (डिएसपी) रुगम कुँवरलाई कारवाहीको सिफारिस गरेको रहस्य खुलासा भएको छ ।
आयोगले डीएसपी कुँवरमाथी जुन तथ्य र प्रमाणमा टेकेर कारबाहीको सिफारिस गरेको छ त्यो प्रमाण नै झुट्टा बनाईएको दाबी डिएसपी कुँवरले गरेका छन् ।
जाँचबुझ आयोगको प्रतिबेदनमा फरार रहेका जीवन चलाउनेसँग बिगत ८ महिनामा २४ सय पटक फोन सम्पर्क भएको, सुन र चलाउनेको बिषयलाई कोही अमुक पात्रलाई फोनबाट म्यासेज पठाएको आधार लिँदै आयोगले डिएसपी कुँवरलाई कारवाहीको सीफारिस गरेको स्रोतले जनाएको छ । तर यस विषयमा डिएसपी कुँवरले आयोगलाई आफ्नो कल रेकर्ड हेर्न चुनौती दिएका छन् ।
कागजपत्रसँग कुरा गर्दै उनले भने, ‘मेरो कल डिटेल्स रेकर्ड दुरसंचारमा प्रकिया पुर्याएर मैले हेरि मेरो जम्मा ८ महिनामा ८२ पटकमात्र कुरा भएको रहेछ, उसँग मेरो २० वर्ष अगाडिदेखि कुरा हुँदै आएको हो । गाउँ ठाउँको भाई हो, पहिला पत्रकारिता गरेको थियो, पछि अन्य व्यापार गर्न थाल्यो । सुनको काम गर्यो कि नुनको गर्यो त्यो मलाई थाहा हुने कुरा होइन । तर झुठा र बनावटी आधार देखाएर मलाई फसाउने जुन षडयन्त्र गरिएको छ, म आयोगमाथि छानबिन गर्न अर्को आयोग बनाउन माग गर्दछु,’ उनले थपे, ‘यो आयोगको प्रतिवेदनमा त्रुटी नै त्रुटी छ ।’
आफूमाथि झुठा प्रमाण बनाएर कारवाहीको सिफारिस गरेको भन्दै डिएसपी कुँवरले गत साता गृह मन्त्रालयमा निवेदन दिएका थिए । पूर्वन्यायाधीश डिल्लीराज आचार्य नेतृत्वको आयोगले आफूमाथि गलत तरिकाले कारबाहीको सिफारिस गरेको दाबी गर्दै डीएसपी रुगम कुँवरले निवेदन दिएका हुन् ।
निवेदनमा भनिएको छ– ‘मैले पठाउँदै नपठाएको र कृत्रिम रूपमा तयार गरेको सूचनाको स्रोतको आधिकारिकता के हो ?’ चलाउनेसँग अत्यधिक फोन संवाद देखिएको भनेर आयोगको प्रतिवदेनमा उल्लेख भएकोमा कुँवरले आपत्ति जनाएका छन् । प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) ले कमान्ड गर्ने सीआईबीमा डिएसपीले चहाँदैमा मुद्दा प्रभावित नहुने जनाउँदै उनले प्रतिवेदनका प्रमाणहरूको जाँच गर्न समेत माग गर्दै यदि दोषी देखिएमा कारबाही भोग्न तयार भएको समेत जनाएका छन् ।
उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेलाई बुझाइएको निवेदनको बोधार्थ गृहसचिव र आईजीपीलाई पनि दिइएको छ ।
आयोगको प्रतिवेदनमा सिआईबीकी तत्कालीन एआईजी किरण बज्राचार्य, एसपी सञ्जयसिंह थापा, डीएसपीहरु दुर्गा दाहाल र रुगम कुँवरलाई कारबाही गर्न सिफारिस गरेको छ ।

