

उपनिर्वाचनका लागि इलाम र बझाङमा निर्वाचन अधिकृत तोकिए

काठमाडौं- निर्वाचन आयोगले आगामी बैशाख १५ गतेका लागि तय भएको प्रदेश सभा उपनिर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत तोकेको छ ।
आयोगले इलाम-२ मा र बझाङ प्रदेश सभा १ मा उपनिर्वाचनका लागि चैत २२ गतेदेखि लागू हुनेगरी मुख्य निर्वाचन अधिकृत तोकेको हो । इलाममा जिल्ला न्यायाधीश केशवप्रसाद घिमिरेलाई मंगलबार मुख्य निर्वाचन अधिकृत तोकिएको निर्वाचन आयोगले जानकारी दिएको छ ।
यस्तै जिल्ला अदालत बझाङमा कार्यरत जिल्ला न्यायाधीश सुदर्शन लामिछानेलाई बझाङको मुख्य निर्वाचन अधिकृत तोकेको छ ।
यही चैत २२ गते जिल्लामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने निर्वाचन आयोगले जनाएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ ।

