

एमाले सिन्धुपाल्चोकको अधिवेशन सुरु, नेपाल र श्रेष्ठबीच प्रतिष्पर्धा

चौतारा – नेकपा एमाले सिन्धुपाल्चोकको १० औं जिल्ला अधिवेशन आजदेखि चौतारामा सुरु भएको छ । अधिवेशनको उद्घाटन एमाले केन्द्रीय अनुशासन आयोगका पुर्व अध्यक्ष अमृतकुमार बोहराले गरेका थिए ।
अधिवेशन उद्घाटन समारोहमा एमाले स्थायी कमिटी सदस्य गुरु बराल, शेरबहादुर तामाङ, पोलिटब्यूरो सदस्य एवम जिल्ला इञ्चार्ज गोकुल बास्कोटा, बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाश ढुगेल लगायतका नेताहरुले एमाले केन्द्रले लिएको मिसन ०८४ सफल गराउन सबै नेता कार्यकर्ताहरु एक भएर लाग्नुपर्नेमा जोड दिए ।
अधिवेशनमा गाउँ गाउँबाट हजारौ कार्यकर्ताहरु सहभागी भएका थिए । जिल्लाका १२ पालिका भित्रका १०३ वडा, जनवर्गीय संगठन, मनोनीतसहित अधिवेशनमा ७४७ प्रतिनिधिहरु सहभागी हुने एमाले जिल्ला अध्यक्ष कमल नेपालले जानकारी दिए ।
त्यस्तै १० औ जिल्ला अधिवेशनमा अध्यक्षमा दुइ जना बिच प्रतिष्पर्धा हुने निश्चित भएको छ । वर्तमान अध्यक्ष कमल नेपाल र एमाले नेता होमनारयण श्रेष्ठबीच प्रतिस्पर्धा हुने भएको हो । अन्य पदहरुका आकक्षीले भने अहिलेसम्म सार्वजनिक गरेका छैनन् ।
अधिवेशनको बन्द सत्र भोलि बिहान बाट सुरु हुने एमाले जिल्ला अध्यक्ष कमल नेपालले जानकारी दिए । बन्द सत्रको सबै तयारी पुरा भएको नेपालले जानकारी दिए । बन्द सत्रमा सांगठनिक, राजनीतिक, आर्थिक लगायत सिन्धुपाल्चोक समृद्धीको खाका पनि पेश हुने छ । प्रतिवेदनहरु पास भएपछि नेतृत्व चयनको कार्य सुरु हुने छ । सर्वसम्मतको प्रयास हुने र नभए निर्वाचन प्रक्रियामा जाने जिल्ला इञ्चार्ज गोकुल बास्कोटाले जानकारी दिए ।

