बैशाख १५ उपनिर्वाचन: नेकपा एसले खोज्यो आफ्नो हिस्सा


काठमाडौं – बैशाख १५ गते इलाम-२ मा प्रतिनिधिसभा र बझाङमा प्रदेशसभाका लागि निर्वाचन हुँदैछ ।

उपनिर्वाचनमा सत्ता गठबन्धनभित्र नेकपा एकीकृत समाजवादीले हिस्सा खोजेको छ । गठबन्धनमा नेकपा एकीकृत समाजवादीले प्रदेशसभाअन्तर्गत बझाङमा दाबी गरेको छ ।

तीन पार्टीको सम्बन्धका बारेमा छलफल भएको जानकारी गराउँदै काभ्रे पुगेर उनले भने, ‘तीन वटा अलग अलग पार्टी हुन्, अलग अलग ढंगले अगाडि बढ्छन् भन्ने कुरा आयो । त्यसै सिलसिलामा इलाम र बझाङको कुरा आयो । हामी छुट्टै पार्टी हुनाले हामीले उम्मेदवार खडा गर्‍यौं भनेर एमालेको तर्फबाट भनियो । स्वाभाविक रूपमा हामी पनि छुट्टै पार्टी हुनाले कहाँ कहाँ उम्मेदवार खडा गर्ने हो, कसकसले हामीलाई साथ दिने हो, त्यसको आधारमा हामी अगाडि बढ्नेछौं ।’

बालुवाटारमा आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा पनि नेकपा एसका अध्यक्ष माधव कुमार नेपालले आफ्नो अडान सुनाए थिए भने ओलीले पनि एमालेको तर्फबाट उम्मेदवार घोषणा भइसकेकाले ब्याक हुन नसक्ने जवाफ दिएका थिए । ओलीको जवाफपछि अध्यक्ष नेपालले एमाले आफ्नै ढंगले अघि बढिसकेकाले माओवादीसँग समझदारी हुनसक्ने संकेत गरेका छन् ।

अध्यक्ष नेपालले थपे, ‘सोचिरहेका छौं दुवै ठाउँमा उम्मेदवारी दिने कि अरुले पनि हामीलाई समर्थन गर्छन् भने त्यही समर्थनको आधारमा अघि बढ्ने हो कि ? तर, हामी दुवै ठाउँमा एक्लै उम्मेदवारी दिनुपर्ने हुनसक्छ भन्ने मानसिकताको साथ अघि बढिरहेका छौं ।

प्रधानमन्त्री प्रचण्डलाई सत्ता टिकाउन गठबन्धनका सबै दल मिलाएर जानुपर्ने भएकाले माओवादी केन्द्रले उपनिर्वाचनबारे चासो राखेको छैन ।

प्रतिक्रिया