
सिआइबीलाई बयान दिएपछि चाैधरीले भने– स्टन्टबाजी गर्नेहरूलाई चरित्रको सर्टिफिकेट दिइराख्नु पर्दैन
काठमाडौं- नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले अर्बपति एवं नेपाली कांग्रेसका सांसद विनाेद चाैधरीसँग बयान लिएकाे छ। बाँसबारी जग्गा हिनामिना प्रकरणमा सिआइबीले चाैधरीसँग बिहीबार बिहान बयान लिएकाे उच्च स्राेतले जनाएकाे छ ।
सिआइबीले सरकारी वकिलको कार्यालय, काठमाडौंमा आज बिहान चौधरीको बयान लिएकाे हाे । चाैधरी आफैं सरकारी वकिलको कार्यालय पुगेका थिए । बयानपछि चौधरीले बाँसबारी जग्गाबारे राजनीतिकरण भएको गुनासो गरेका छन् । स्टन्ट गर्नेहरूलाई आफ्नो चरित्रको सर्टिफिकेट दिइराख्नु नपर्ने उनको भनाइ थियो ।
‘सांसदकाे रूपमा उद्यमीकाे रूपमा मैले सिआइबीलाई बयान दिएकाे छु। सिआइबीले मलाई माैखिक रूपमा बयान लिने जानकारी गराएकाे थियाे मैले आफ्नाे कुरा राखेर आएकाे छु । याे जटिल परिस्थितिमा मजत्तिकाे मान्छेले यहाँ उभिएर याे भनिरहँदा विश्वभरका व्यवसायीलाई के सन्देश पुग्दाे हाे ?’ उनले भने, ‘मेराे ४५ वर्षे यात्राकाे चरित्रकाे सर्टिफिकेट कसैलाई बुझाउनुपर्दैन। खासगरी स्टन्टबाजी गर्नेहरूलाई। व्यवसायीलाई यस्ता प्रकारका गतिविधिबाट टाढा राख्नुपर्छ ।’
सभामुख देवराज घिमिरेलाई केन्द्रीय अनुसन्धान ब्यूरोले पत्र लेखेर चौधरीमाथि अनुसन्धान भइरहेको जानकारी गराएको थियो ।
काठमाडौँ महानगरपालिका–३ स्थित बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी जग्गा हिनामिना प्रकरणमा उनको संलग्नता रहेको आशङ्का गरिएको छ ।



कागजपत्र |
