

रौतहटमा सुरक्षा टोली र काठ तस्करबीच जम्काभेट हुँदा हवाई फायर

रौतहट- जिल्लाको वृन्दावन नगरपालिका १ रामलाल वृन्दावन साझेदारी वनक्षेत्र भित्र बन सुरक्षा टोली र तस्कर बिच जम्काभेट हुँदा भिडन्त भएको छ ।
गएराति ११ बजे साझेदारी वनक्षेत्र भित्र बन सुरक्षा टोली र काठ तस्कर बिच जम्काभेट हुँदा टोलीले हवाई फायर गरेर गोलिया काठ बरामद गरेको हो।
डिभिजन वन कार्यालय रौतहटका प्रमुख शैलेन्द्र कुमार मिश्रका अनुसार वन अधिकृत अनिल कुमार महतोको कमान्डमा गएको टोलीले वन क्षेत्र भित्र गस्तीको क्रममा तस्करसँग भिडन्त भएको थियो।
सो क्रममा टोलीले तीन राउन्ड हवाई फायर गरेपछि तस्कर समूह भागेको थियो। टोलीले उक्त स्थान बाट तीनाथान गोलिया साढे ५७ फिट सालको काठ लोड रहेको एकथान टायर गाडा र एउटा पाडो बरामद गरेको प्रमुख मिश्रले जानकारी दिए ।
झन्डै दुईलाख भन्दा बढी मूल्यको काठ सहितको टायर गाडा र पाडो आवश्यक कारवाहीको लागि डिभिजन वन कार्यालय चन्द्रनिगापुरमा ल्याइएको तथा घटनाबारे अनुसन्धान भइरहेको जनाइएको छ।

