

प्रहरी भन्छ- ‘ब्रेक फेल’ भएर कपिलवस्तुमा बस दुर्घटना भएको हो

काठमाडाैं- कपिलवस्तुकाे शिवराज नगरपालिका–१ सुरही खोलामा भएको बस दुर्घटनाको कारण यान्त्रिक गडबडीले भएको प्रहरीले जनाएको छ।
१० जना यात्रुको मृत्यु र ३० जना यात्रु घाइते हुने गरी भएको बस दुर्घटनाको कारण ब्रेक फेल भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डिएसपी हरिबहादुर वलीले जानकारी दिए । ‘हाम्रो प्रारम्भिक अनुसन्धानबाट ब्रेक फेल हुँदा दुर्घटना भएको देखियो । घटनाको विस्तृत कारणहरु पत्ता लगाउन अनुसन्धान गर्दैछौँ’ उनले भने ।
उनका अनुसार पहाडको घुम्ति छिचोल्ने क्रममा बस दायाँबायाँ गरेर हल्लिएको र सिधै पहाडबाट खोलामा खस्दा ठूलो मानवीय क्षति हुन पुगेको हो ।
महेन्द्रनगरबाट काठमाडौं जाँदै गरेको सुनौलो महाकाली यातायातको सुपप्र ०२–००१ ख ००९८ नम्बरको बस सडकबाट २०० मिटर तल खसेर दुर्घटना भएको थियो ।
मृतक १० मध्ये ७ पुरुष र ३ महिला हुन् । मृतकहरुमा रौतहट औराही-३ का ४६ वर्षीय नारायण बहादुर भण्डारी, कालिजंग गण गोरुसिंगेमा कार्यरत अर्जुनकुमार योगी, भारत उत्तर प्रदेशका सकिल मुसलमान, भीमदत्त नगरपालिका-१ कन्चनपुरका २७ वर्षीय राहुलराम कामी, भीमदत्त-४ कन्चनपुरका २४ वर्षीय उमेश भण्डारी रहेका छन् ।
यस्तै, भीमदत्त नगरपालिका-१६ कन्चनपुरकी सन्जु थापा, भीमदत्तकै बाह्रकुण्डकी खगेश्वरी खाती, कन्चनपुर पुनर्वाससकी विमलादेवी भट्ट, भीमदत्त-२ का सुदीप भट्ट र भीमदत्त-९ का बिसनदत्त भट्ट रहेका जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख एसपी नवरत्न पौडेलले बताए ।
दुर्घटनामा ३० जना घाइते भएका छन् । त्यसमध्ये ९ जनाको बुटवलमा र अरुको कपिलवस्तुकै अस्पतालमा उपचार भइरहेको छ ।

