
पूर्वराजा ज्ञानेन्द्र पश्चिम बंगालमा, भारतीय प्रधानमन्त्री मोदी पनि आउँदै
काठमाडौं– स्थलमार्ग हुँदै भारतको पश्चिम बंगाल राज्यमा पुगेका पूर्वराजा ज्ञानेन्द्र शाह अझ केही दिन उतै रहने बताइएको छ। पश्चिम बंगालको सिलिगुरी हुँदै उनी शनिबार दार्जिलिङमा रहेको खुलेको छ।
१० दिनका लागि भारतको भ्रमणमा पुगेका उनको कुनै औपचारिक कार्यक्रम भने रहेको छैन। तर पश्चिम बंगालमा चुनावी सभाहरू भइरहेको र भारतीय जनता पार्टीका उच्च तहका नेताको चहलपहल रहेका बेला पूर्वराजाको भारत बसाईलाई अर्थपूर्ण रुपमा हेरिएको छ।
यसैबीच, भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी आइतबार पश्चिम बंगाल आउँदैछन्। चुनावी सभालाई सम्बोधन गर्न आउने उनी त्यहिँ बस्छन् वा नयाँ दिल्ली फर्किन्छन् भन्नेचाहिँ खुलीसकेको छैन।
भारतीय समयअनुसार दिउँसो ३ बजे मोदी पश्चिम बंगालको कोलकत्ता सभालाई सम्बोधन गर्न आउनेछन्। दशौं लाखको सभालाई सम्बोधन गर्ने उनी र पूर्वराजाबीचमा संवाद हुनसक्ने अनुमान गरिए पनि पुष्टि गर्न सकिएको छैन।
सत्तारुढ भारतीय जनता पार्टीका विदेश विभाग हेर्नेे नेता कैलाश विजयवर्गीय पश्चिम बंगालको सिलिगुरीमा रहेका छन्। पूर्वराजा ज्ञानेन्द्र पनि केही दिन सिलिगुरीमा नै बसीरहेका छन्।
यद्यपि, भारतीय जनता पार्टीका उच्च तहका नेतासँग भने पूर्वराजा ज्ञानेन्द्रको अनौपचारिक संवाद हुने बताइन्छ। केही दिनमा हुने चुनावका लागि भारतीय जनता पार्टीका उच्च तहका नेतासँग ज्ञानेन्द्रका तर्फबाट भेटघाटको प्रयत्न भइरहेको बुझिएको छ।



कागजपत्र |
