

धुलिखेलमा अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन

काठमाडौं- काभ्रेको धुलिखेलमा आजदेखि अन्तर्राष्ट्रिय उपकुलपति सम्मेलन सुरु भएको छ । धुलिखेलस्थित काठमाडौँ विश्वविद्यालयको मुख्य परिसरमा उत्तर क्षेत्रीय अन्तर्राष्ट्रिय उपकुलपति सभा तथा भारत–नेपाल उच्च शिक्षा शिखर सम्मेलन सुरु भएको हो । उक्त सम्मेलनको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरेका छन् ।
उक्त सम्मेलनमा नेपाल भारतसहित विभिन्न देशका १५० भन्दा बढी विश्वविद्यालयका उपकुलपतिको सहभागिता रहेको छ । भारतीय विश्वविद्यालय संघको आयोजनामा उक्त सम्मेलन हुन लागेको हो । उक्त सम्मेलनमा १५० भन्दा बढी विश्वविद्यालयका उपकुलपति, शिक्षाविद्हरू लगायत गरेर २३७ जनाको सहभागिता रहेको काठमाडौँ विश्वविद्यालयका उपकुलपति प्राडा भोला थापाले बताए ।
विश्वले उच्च शिक्षाको क्षेत्रमा भोगिरहेको समकालीन मुद्दा ‘भूमण्डलीकरण र उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण’ मूल–विषय रहेको उक्त सम्मेलनमा उच्च शिक्षाको अन्तर्राष्ट्रियकरण, अन्तर–विश्वविद्यालय सहकार्य, वैश्विक उच्च शिक्षा नीति आदि विषयमा छलफल हुनेछ ।

