सरकारमा हुनेलाई सत्ता कसरी टिकाउने भन्दा बाहेकको चिन्ता छैनः डा. रिजाल


काठमाडौं – नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजालले सरकारमा हुनेहरुलाई सत्ता कसरी टिकाउने भन्दा बाहेकको चिन्ता नभएको टिप्पणी गरेका छन्।

‘अभ्यासमा संघीय लोकतान्त्रिक गणतन्त्र’ विषयक विचार गोष्ठीमा बोल्दै नेता रिजालले यस्तो बताएका हुन् ।

नेता रिजालले सत्तारुढ गठबन्धनले प्रधानमन्त्री फेर्ने बाहेकको काम गर्न नसक्ने बताए। उनले विकास सम्भव नभएकाले झूटो कुरा गर्न नहुने तर्क गरे ।

उनले भने, ‘प्रचण्डजीलाई मेरो पार्टीको सभापति शेरबहादुर देउवा रिसाउनु भयो भने उहाँको सत्ता धरापमा पर्छ । सीधै बालकोट दौडिनुपर्छ । उहाँले हुन्न भन्नुभयो भने के गर्ने बालकोटमा ? चिन्ता त्योबाहेक केही छैन । हामी त झन् सरकारमा अन्तिम पालो कुरेर बसेका हौं । अहिले मात्रै होइन घनश्यामजीको माधवजीले धोखा दिनुभयो भने पनि हाम्रो त गोलमाल हुन्छ । अनि चिन्ता केको गर्ने ? कहाँको विकासको चिन्ता गर्ने ? सम्भव छैन झूटा कुरा नगरौं, आफ्नो सत्ताको टुंगो छैन । आज बेलुका सुत्दा भोलि बिहान उठ्दा रहन्छ कि रहँदैन टुंगो छैन ।’

उनले अहिलेको गठबन्धनले ५ वर्षका लागि सम्झौता भएको भन्दै नेकपा एमालेले फकाउन नसके प्रधानमन्त्री फेर्नु बाहेकको नयाँ काम हुन नसक्ने जिकिर गरे । उनले गठबन्धनका शीर्ष नेताले सत्ताबाहेक बाँकी सत्य नदेखेको बताए ।

उनले कांग्रेस अन्तिममा सत्ता कुरेर बसेको भन्दै माधव नेपालले धोखा दिए पनि गोलमाल हुने बताए ।

प्रतिक्रिया