अवकाश पाएका ३० महिला स्वास्थ्य स्वयंसेविकालाई एक लाखसहित सम्मान


त्रिशूली (नुवाकोट)- नुवाकोटको विदुर नगरपालिकाले अवकाश पाएका ३० महिला स्वास्थ्य स्वयंसेविकालाई जनही रु एक लाखसहित सम्मान गरेको छ ।

साठी वर्ष उमेर पूरा भएका ३० स्वयंसेविकालाई बिदाइका क्रममा तोकिएको अवधिसम्म सेवा पुर्‍याएको भन्दै नगदसहित सम्मान गरिएको नगरप्रमुख राजन श्रेष्ठले जानकारी दिए। उनका अनुसार गत असार ९ को कार्यपालिका बैठकले प्रस्ताव गरेअनुसार असार १० मा सम्पन्न नगर सभामा पारित गराई यसअघि खाली हात बिदाइ हुँदै आएका स्वयंसेविकालाई रु एक लाख उपलब्ध गराइएको हो ।

‘नगर सभाबाट पारित कानुनअनुसार नगरभित्र कार्यरत स्वास्थ्य स्वयंसेविका अवकाश हुँदा तोकिएको अवधि पूरा भएकालाई नगदसहित सम्मान गर्ने कानुन बनाएर यस आर्थिक वर्षदेखि सुरु गरेका छौँ’, नगरप्रमुख श्रेष्ठले भने, ‘२९ जनालाई अवकाश प्राप्त र एक जनालाई मरणोपरान्त सम्मानका क्रममा रु एक लाख उपलब्ध गराइएको हो ।’

नगरपालिकाले बनाएको कानुनअनुसार १० वर्षदेखि १५ वर्ष सेवा गरेबापत रु ५० हजार, १५ वर्षदेखि २० वर्षसम्म सेवा गरेबापत रु ७५ हजार र २० वर्षभन्दा बढी सेवा पुर्‍याएबापत रु एक लाख दिइने उल्लेख छ । कानुनअनुसार यो आर्थिक वर्षको हालसम्म ६० वर्ष उमेर पूरा गरेर सम्मान पाउने स्वास्थ्य स्वयंसेविकाको सङ्ख्या ३० पुगेको नगरपालिकाका जनस्वास्थ्य निरीक्षक रामराजा भण्डारीले जानकारी दिए ।

प्रतिक्रिया