
डिजेलको आयात घट्दा पेट्रोलको बढ्यो, कुन कति घट्यो/बढ्यो ?
काठमाडौं – बजारमा डिजेलको खपतमा कमी आएको छ ।
आर्थिक गतिविधि पूर्ण रूपमा चलायमान नभई विकास निर्माणका काम अगाडि बढ्न नसक्दा डिजेलको खपतमा कमी आएको हो । डिजेलको खपत घटेसँगै आयातमा समेत कमी आएको छ ।
नेपाल आयल निगमका अनुसार चालु आर्थिक वर्षको छ महिनामा डिजेल आयात १८ प्रतिशतले घटेर पाँच लाख १९ हजार २२८ किलोलिटर आयात भएको हो ।
निगमका निमित्त कार्यकारी निर्देशक नागेन्द साहले विकास निर्माणको काम सुस्त हुनुका साथै विद्युतीय गाडीको प्रयोगले डिजेलको खपतमा कमी आएको जानकारी दिनुभयो । बजारमा माग कम हुँदा आयातमा समेत कमी आएको उनको भनाइ छ ।
विकास निर्माणको काममा डिजेलको खपत बढी हुने गरेकोमा गत वर्षदेखि आर्थिक सङ्कटका कारण तीव्र गतिमा काम हुन सकेको छैन । जसको कारणले गर्दा पनि डिजेलको खपतमा कमी आएको हो । विशेष गरी डिजेल विकास निर्माण, औद्योगिक क्षेत्र, मालवाहक र ठुला सवारी साधनमा बढी प्रयोग हुने गर्छ । औद्योगिक क्षेत्रमा २५ देखि ३० प्रतिशतले डिजेल खपत हुने गरेको छ । पछिल्लो समय बिजुलीका सवारीसाधनको प्रयोग बढ्दै गएकाले पनि डिजेलको खपतमा कमी आएको हो ।
सामान्य अवस्थामा एक लाख ४० हजार किलोलिटर डिजेल खपत हुने गरेकोमा हाल घटेर मासिक ९४ हजार ४०५ किलोलिटरमा झरेको छ ।
यस्तै पेट्रोलको खपत भने दुई प्रतिशतले बढेर तीन लाख १५ हजार ५६ किलोलिटर पुगेको छ । हाल मासिक बजारमा ५७ हजार २८२ किलोलिटर खपत हुने गरेको छ । हवाई इन्धनको खपत भने ९.१४ प्रतिशतले बढेर ८६ हजार ७२४ किलोलिटर पुगेको छ । हाल मासिक हवाई इन्धनको खपत १५ हजार ७६८ किलोलिटर रहेको छ । मटितेलको खपत भने २१.६१ प्रतिशतले घटेर चार हजार ६७२ किलोलिटर रहेको छ । यस्तै खाना पकाउने एलपी ग्यासको मूल्य एक प्रतिशतले घटेर दुई लाख ३६ हजार ३७९ मेट्रिक टन आयात भएको छ । -गोरखापत्र दैनिक



पत्रपत्रिका |
