नेकपा दाहाल-नेपाल समूहको संसदीय दलको बैठक बस्दै


काठमाडौँ – संसद पुनर्स्थापना भएसँगै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का दुवै पक्षले संसदीय दलको बैठक बोलाएका छन् । फागुन २३ गते (आइतबार) बस्ने प्रतिनिधि सभा बैठकको पूर्वसन्ध्यामा दुवै नेकपाले संसदीय दलको बैठक बोलाएका हुन् ।

नेकपा दाहाल-नेपाल समूहको संसदीय दलको बैठक आज (शुक्रबार) बस्दै छ । बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्ने भएको छ । फागुन २३ गते बस्ने संसदको बैठकमा सांसदहरुले खेल्ने भूमिकाबारे नेताहरुले निर्देशन दिनसक्ने छन् ।

नेकपाको ओली पक्षले पनि आइतबार बैठक बोलाएको छ । पुनःस्थापित प्रतिनिधिसभाको बैठक आइतबार दिउँसो ४ बजे अघि ३ बजेका लागि ओली समूहले दलको बैठक बोलाएको छ। यो समूहका प्रमुख सचेतक विशाल भट्टराईले नेकपा संसदीय दलका सांसदलाई खबर गरेका छन्।

भट्टराईले नेकपा दलमा आबद्ध सबैलाई एसएमएस मार्फत खबर गरिएको बताए। संसदीय दलका नेता ओलीले भट्टराईलाई प्रमुख सचेतकमा नियुक्त गरेपछि दाहाल-नेपाल पक्षले आपत्ति जनाउँदै उक्त निर्णय कार्यान्वयन गर्न संसद सचिवालयलाई आग्रह गरेको छ ।

संसद पुनः स्थापना भएसँगै नेपाल कम्युनिस्ट पार्टी नेकपाका दुबै समूह लगायत प्रतिपक्षी दल नेपाली कांग्रेसले संसदीय दलका बैठक बोलाएका छन् । गत पुस ५ गते सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन गरेसँगै कानुनी बाहेक नेकपा दुई समूहमा अलग भएको हो ।

संसद विघटनको मुद्धा सर्वोच्च अदालतले बदर गर्दै १३ दिनभित्र बैठक बोलाउन आदेश दिएको थियो। सोहि अनुसार मन्त्रीपरिषद्को सिफारिसमा २३ गते राष्ट्रपतिले संसदको बैठक आह्वान गरेकी छन्।

प्रतिपक्षी दल नेपाली कांग्रेसले पनि शुक्रबा नै संसदीय दलको बैठक बोलाएको छ ।

प्रतिक्रिया