अमेरिकाको साहसी महिला अवार्ड पाउने मुस्कान खातुन पहिलो नेपाली


काठमाडौं– एसिड आक्रमणमा परेकी मुस्कान खातुनलाई अमेरिकाले अन्तर्राष्ट्रिय साहसी महिला (आईडब्ल्यूओसी) पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ। यो अवार्ड पाउने उनी पहिलो नेपाली हुन्।

नेपालस्थित अमेरिकी राजदूत रेन्डी बेरीले उनी पहिलो नेपाली भएको भन्दै बधाई समेत दिएका छन्। एसिड आक्रमणविरुद्ध नेपाल सरकारलाई कानुन परिवर्तन गराउन खातुनको भूमिका रहेपछि अमेरिकाले उक्त अवार्ड दिएको हो।

अमेरिकी प्रथम महिला जिल बाइडन र विदेश मन्त्री टोनी ब्लिंकनले ८ मार्चमा एक भर्चुअल कार्यक्रमको पुरस्कार औपचारिक प्रदान गर्नेछन्।

नेपालस्थित अमेरिकी दूतावासले भनेको छ, ‘मुस्कानले एक दुःखद घटनालाई नेपालमा परिवर्तन ल्याउने एक अवसरमा रूपान्तरण गरिन् । धम्की र सामाजिक दबाबको सामना गर्दै मुस्कानले तेजाब हमलाविरुद्ध कडा कानुन र सजायको लागि लबी गरिन्।’

उनले प्रधानमन्त्री के.पी. ओलीसँग भेट गरिन् जसले तेजाब हमलासम्बन्धी नयाँ कानुनको मस्यौदा तयार पार्न आह्वान गरे र अपराधीहरूलाई दण्डित गर्ने तथा रसायनको बिक्रीलाई नियमन गर्ने अध्यादेश पनि जारी गरे । यो परिवर्तन ल्याउनमा मुस्कानको नेतृत्व महत्वपूर्ण रहेको दूतावासले उल्लेख गरेको छ।

प्रतिक्रिया