
नेपाल–भारत अन्तर–सरकारी समितिको बैठक काठमाडौंमा सम्पन्न
काठमाडाैं- नेपाल–भारत अन्तर सरकारी समितिको बैठक भएको छ । अनधिकृत व्यापार नियन्त्रण हेतु व्यापार, पारवहन र सहकार्य सम्बन्धी भारत-नेपाल अन्तर-सरकारी उपसमिति (आइजीएससी) को बैठक शुक्रबार र शनिबार काठमाडौंमा भएको हो ।
बैठकमा भारतीय टोलीको नेतृत्व भारत सरकार वाणिज्य मन्त्रालयका सहसचिव विपुल बंशल र नेपाली टोलीको नेतृत्व उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव रामचन्द्र तिवारीले गरेका थिए ।
व्यापार र लगानी सम्बन्धलाई सुदृढ बनाउन लक्षित द्विपक्षीय संयन्त्र आईजीएससीको बैठकमा विभिन्न महत्वपूर्ण विषयमा छलफल भएको थियो। दुवै पक्षले औषधीय तथा आयुर्वेदिक वस्तुका लागि आपसी बजार पहुँचबारे छलफल गरेका थिए ।
भारतीय पक्षले प्रत्यक्ष विदेशी लगानी (एफडीआई) लाई प्रोत्साहन गर्न पेरिस महासन्धिको व्यवस्थाको आवश्यकतामाथि प्रकाश पारेको जनाएको छ ।
नयाँ एकीकृत जाँच चौकी र रेलमार्ग निर्माणसहित भारत र नेपालबीचको निर्वाध अन्तरदेशीय कनेक्टिभिटीलाई थप सुदृढ गर्न द्विपक्षीय पहलको आवश्यकतालाई बैठकले जोड दिएको थियो । समृद्ध द्विपक्षीय व्यापारबारे साझा दृष्टिकोण प्रस्तुत गर्दै दुवै पक्षले यी पहल कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए ।
नेपालको आयात र निर्यातमा उल्लेखनीय योगदान पुर्याइरहेको भारत-नेपालको प्रमुख व्यापार र लगानी साझेदारका रूपमा रहेको छ । यस बैठकमा भएको छलफलले दुई देशबीचको आर्थिक र व्यावसायिक सम्बन्धलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।



कागजपत्र |
