गण्डकी र लुम्बिनीमा सीमित भए कांग्रेस इतर समूह, महामन्त्री थापाको लिखित असहमति


काठमाडौं – नेपाली कांग्रेसले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि उमेदवार टुंगो लगाएको छ ।

राष्ट्रिय सभामा १० सिटको भाग पाएको कांग्रेसभित्र संस्थापन इतरले ३ उम्मेदवार पाएको छ ।

इतर समूहले गण्डकी र लुम्बिनीमा भाग पाएको छ भने अन्य ५ प्रदेशका ७ उम्मेदवार संस्थापन पक्षका रहेका छन् ।

कोशी प्रदेशमा संस्थापन पक्षका कृष्णप्रसाद सिटौला, मधेसमा आनन्द प्रसाद ढुंगाना, वाग्मतीमा विष्णुदेवी पुडासैनी र जितजंग बस्नेतले टिकट पाएका छन् ।

कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार गण्डकीमा इतरका किरणबाबु श्रेष्ठ र पदमबहादुर परियारले टिकट पाएका छन् । त्यस्तै लुम्बिनीबाट विष्णुदेवी सापकोटा पनि इतर पक्षकै हुन् ।

कर्णालीमा कृष्णबहादुर रोकाया र सुदूरपश्चिममा नारायणदत्त भट्ट र बलदेव बोहराले टिकट पाएका छन् । उनीहरु तिनै जना संस्थापन पक्षका हुन् ।

कांग्रेस महामन्त्री गगन थापाले सभापतिको यस निर्णयप्रति लिखित रुपमै असहमति जनाएका छन् । इतर समूहले चार सिटको भागबन्डा खोजेको थियो ।

 

महामन्त्री गगन थापाको फरक मत यस्तो छ –

१. हाम्रो संविधानले राष्ट्रिय सभामा खासगरी प्रतिनिधिसभामा प्रतिनिधित्व हुन नसकेमा जाती, वर्ग र क्षेत्रको प्रतिनिधित्व र राष्ट्रिय जीवनका विभिन्न क्षेत्रमा विशिष्ट योगदान पु¥याएका एवं विज्ञ व्यक्तिहरूको उपस्थितिको परिकल्पना गरेको छ । यसैगरी नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको पौष १२–१४ गतेसम्म बसेको बैठकले राष्ट्रिय सभाको उम्मेदवार चयन सम्बन्धमा ‘हालसम्म कुनै पनि अवसर नपाएका वा विभिन्न कारणले अवसरबाट वन्चित भएका योग्य तथा लोकप्रिय व्यक्तिलाई प्राथमिकता दिने’ लगायतको मापदण्ड तय गरेको थियो ।

संसदीय बोर्डको आजको बैठकले उम्मेदवारको चयन गर्दा माथि उल्लेखित पक्षमा यथेष्ट ध्यान पुर्याउन सकेन ।

२.यो निर्णयले पार्टीमा कुनै पनि आग्रह नराखिकन निर्णय हुन्छ, सबै तह र तप्काका साथीहरूलाई समान ढंगले न्यायको अनुभूति र अवसरमा स्थान हुन्छ भन्ने विश्वासलाई पुनः एकपटक खण्डित गरेको छ । यस्तो आग्रहपूर्ण निर्णयले पार्टीभित्रको लोकतन्त्रलाई समेत थप कमजोर बनाउँछ ।

अतः आजको निर्णयप्रती मेरो लिखित असहमति रहेको छ । मेरो असहमतिको बाबजुद बैठकमा बहुमतले गरेको निर्णय कार्यान्वयनमा जाँदा मेरो पूर्ण संलग्नता रहने नै छ ।

गगनकुमार थापा
महामन्त्री
२०८० पौष २२

प्रतिक्रिया