चेतन हत्याकाण्डका अभियुक्त साधारण तारेखमा रिहा


काठमाडाैंं- सर्वोच्च अदालतले अनेरास्ववियुका केन्द्रीय सदस्य चेतनदीप अयडीको हत्याकाण्डका ६ जना अभियुक्तलाई साधारण तारेखमा छाडेको छ ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र अब्दुल अजिज मुसलमानको इजलासले बिहीबार यो आदेश गरेको हो ।

२०७९ मंसिर ४ गते आम निर्वाचनका दिन बाजुराको नाटेश्वरी आधारभूत विद्यालय मतदान केन्द्रमा एमालेका तर्फबाट प्रतिनिधि बसेका अयडीलाई उनको घरमै गएर एक समूहले हत्या गरेको थियो ।

त्यसबेलाको भिडिओ सामाजिक सञ्जालमा भाइरल भएको थियो । अभियुक्तहरू जुद्धबहादुर अयडी, चक्रबहादुर अयडी, विनोदबहादुर अयडी, भूपाल अयडी, रुपा चौधरी अयडी र रनसिंह बहादुर अयडीलाई मुद्दा पुर्पक्षको निमित्त थुनामा नै राख्नुपर्ने अवस्था मिसिल संलग्न तत्काल प्राप्त प्रमाणहरूबाट देखिन नआएकोले थुनामा राख्ने गरी भएको जिल्ला र उच्च अदालतको आदेश बदर गरिएको सर्वोच्चले जनाएको छ ।

धनराज थापा, जंग भन्ने शेरबहादुर अयडी, खेमराज अयडी र सागर अयडीलाई मात्र थुनामा राख्नुपर्ने सर्वोच्चले भनेको छ ।

उक्त हत्याकाण्डमा जिल्ला अदालत बाजुरामा २४ जनाविरुद्ध मुद्दा दायर भएको थियो । तीमध्ये पक्राउ परेका सबैलाई जिल्ला अदालत बाजुरा र उच्च अदालत दीपायलले पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।

 

 

प्रतिक्रिया