

धर्ममा ‘व्यापार’: पशुपतिको आरती खिच्ने ठेक्का प्रालिलाई, अरुले खिचे कारबाही

काठमाडौं- अब व्यवसायिक रुपमा पशुपति आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गङ्गा आरती र दीप प्रज्वलनको भिडियो खिच्न नपाइने भएको छ ।
गङ्गा आरतीको भिडिओ खिच्ने ठेक्का बुढासुब्बा डिजिटलले मासिक एक लाख ६० हजार रुपैयाँमा खरिद गरेको पाइएको हो ।
केही महिनाअघि पशुपति क्षेत्र विकास कोषसँग भएको सम्झौतामा बुढासुब्बाले यो रकममा कपिराइट लिएको पाइएको हो ।
उक्त ठेक्कापछि पशुपति क्षेत्र विकास कोष र बुढासुब्बा डिजिटल प्रालिले मन्दिर परिसरमा सूचना राख्दै व्यापारिक प्रयोजनका लागि भिडिओ खिच्न निषेध गरेका छन् ।
‘पशुपतिनाथ आर्यघाट क्षेत्रको बागमती नदी किनारमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडिओ खिच्न सख्त मनाही छ । यहाँ खिचिएका भिडिओ सामग्री फेसबुक, इन्स्टाग्राम, टिकटक तथा युट्युबमा व्यावसायिक प्रयोजनका लागि राखिएको थाहा भएमा डिजिटल कपिराइट ऐन अन्तर्गत कारबाही हुने जानकारी गराउँदछौं’ सूचनामा भनिएको छ ।
कोषका सूचना अधिकारी रेवतीरमण अधिकारीले पशुपति क्षेत्रमा हुने गंगा आरती र कोर क्षेत्रमा हुने दीप प्रज्वलनको भिडिओको प्रतिलिपि अधिकार बुढासुब्बालाई बिक्री गरिएको बताए ।
उनका अनुसार सम्झनाका लागि भने सर्वसाधारणले भिडियो तथा फोटो खिच्न पाउनेछन् । तर, व्यापारिक प्रयोजनका लागि भने ती सामग्री प्रयोग गर्न नपाइने उनले बताए ।

