

नेपालगञ्ज दुर्घटना: अमेरिका जाने तयारीमा थिइन् आस्था, ड्यूटी सकेर फर्किएका थिए चौधरी

काठमाडौं- गत आइतबार राति बाँकेस्थित नेपालगञ्जको एक होटलमा आयोजित ‘न्यू इयर इभ’ मनाएर आस्था शाह र शाहना सिद्धार्थ होटलतर्फबाट दक्षिणतर्फ घर फर्कदै थिए । सिद्धार्थ भ्यू होटलका कर्मचारी मायाराम चौधरी पनि आफ्नो कोठामा फर्कदै थिए । उनीहरु सडकपेटी भएरै पैदल हिँडेर घर फर्किरहेका थिए ।
सडक छेउमा हिँडिरहेका बेला एक स्कोरपियोले उनीहरु सबैलाई ठक्कर दियो । नेपालगञ्ज उपमहानगरपालिका–१८ कारकाँदोस्थित एसके पेटोल पम्प नजिक सुपप्र ०१–००१–३४६४ नम्बरको स्कोरपियोले तीनै जनालाई एक्कासी ठक्कर दिएको थियो ।
ठक्करबाट २४ वर्षीया आस्था र चौधरीको मृत्यु भयो । भने, सँगै हिँडिरहेकी शाहना गम्भीर घाइते भइन् । आस्था केही दिनमा अमेरिका उड्ने तयारीमा थिइन् ।
स्कोरपियो कैलालीको लम्कीचुहा निवासी रामराज जैसीले चलाएका थिए । जिल्ला प्रहरी कार्यालय बाँकेका डिएसपी नारायण डाँगीले उनलाई पक्राउ गरेको बताएका छन् । चालकले मादक पदार्थ सेवन गरेको प्रमाणित भइसकेको छ ।
तर पीडित पक्षले भने न्याय नपाएको गुनासो गरेका छन् । उनीहरुले दोषीलाई उम्क्याउन खोजेको आरोप लगाएका छन् । स्कारपियोमा सवार अन्यको परिचय लुकाएर प्रहरीले घटना गुपचुप गर्न खोजेको भन्दै उनीहरुले आज(बिहीबार) दुर्घटनास्थल नजिकैको सडक अवरुद्ध पारेका छन् ।
मृतक चौधरीका आफन्तले दोषीमाथि कारबाही र उचित क्षतिपूर्तिको माग राख्दै सडकमा प्रदर्शन गर्नु परिरहेको बताएका छन् । यस्तै प्रहरीले पीडतसँग कुनै समन्वय नगरेको आरोप पनि उनीहरुले लगाएका छन् । गाडीमा भएका अन्य व्यक्ति फरार भएकाले प्रहरीको अनुसन्धानमा आशंका भएको उनीहरुले बताएका छन् ।
मृतक आस्थाका दाई सुरजले पनि प्रहरीको अनुसन्धानमा शंका गर्ने पर्याप्त तथ्य भएको बताएका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमा प्रश्न गरेका छन्, ‘नेपालगञ्ज प्रशासनले दुर्घटना हुने बित्तिकै मुचुल्का नउठाई घटनास्थलबाट किन गाडी लग्यो ? गाडीमा को–को महिला सवार थिए ? प्रशासनले किन पहिचान लुकाएर राखेको छ ?’
उनले ठक्कर दिने गाडीमा सवारले आर्थिक शक्ति प्रयोग गरेर प्रमाण लुकाइरहेको आरोप लगाएका छन् ।
तर बाँके प्रहरीका सूचना अधिकारी डिएसपी नारायण डाँगीले भने प्रहरीले अनुसन्धान जारी राखेको बताएका छन् । चालक र गाडी नियन्त्रणमा लिएर अनुसन्धान अघि बढीरहेको उनले बताए । त्यस्तै कारकादोस्थित सडकमा विरोध प्रदर्शन गरिरहेका आफन्तलाई सम्झाई बुझाइ गरिएको उनले बताए ।

