

नेकपा दाहाल-नेपाल समूहको केन्द्रीय कमिटी बैठक सुरु

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल-नेपाल समूहको केन्द्रीय कमिटीको बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ । पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफलका लागि बैठक बस्न लागेको हो ।
बैठकमा पार्टी संसदीय दलको नेता परिवर्तन गर्ने प्रक्रिया अघि बढाउने मुख्य एजेण्डा रहेको एक केन्द्रीय सदस्यले बताए ।
केन्द्रीय कमिटीको बैठक बस्नुअघि आज (बुधबार) बिहान स्थायी कमिटी बैठक बसेको थियो । उक्त बैठकले संसदीय दलको नेता परिवर्तन गर्ने प्रस्ताव केन्द्रीय समिति बैठकमा लैजाने निर्णय गरेको थियो ।
स्थायी समिति सकिएलगत्तै सो पार्टीको केन्द्रीय समिति बैठक सुरु भएको हो । आजको केन्द्रीय कमिटी बैठकमा केन्द्रीय समिति सदस्यहरुलाई पार्टीको परिचय पत्र र नागरिकतासहित उपस्थित हुन भनिएको छ ।
प्रतिनिधिसभा पुनस्थापना पश्चात आगामी फागुन २३ गते संसद बैठकसमेत आह्वान भैसकेकोले अब संसदमा कसरी अघि बढ्ने भन्ने विषयमा केन्द्रीय कमिटीबाट रणनीति तय गर्न दाहाल-नेपाल समूहले बैठक आह्वान गरिएको स्रोतले जनाएको छ ।

