महिला कर्मचारीलाई दुर्व्यवहार गरेको अभियोगमा रिद्धिसिद्धिका महाप्रबन्धक पक्राउ


हेटौँडा – जिल्ला प्रहरी कार्यालय मकवानपुरले महिला कर्मचारीलाई दुर्व्यवहार गरेको अभियोगमा रिद्धिसिद्धी सिमेन्ट उद्योगका महाप्रबन्धक पक्राउ परेका छन् ।

उद्योगमा कार्यरत एक महिलाले हातपात गरेको भन्दै प्रहरीमा उजुरी दिएपछि प्रहरीले उद्योगका महाप्रबन्धक लोकेन्द्रबहादुर मल्ललाई सोमबार पक्राउ गरेको हो ।

नेपाल प्रहरीका पूर्व एसएसपी समेत रहेका मल्ललाई प्रहरीले थप अनुसन्धानका लागि मंगलबार जिल्ला अदालतबाट सात दिनको म्याद थप गरिएको जनाएको छ ।

प्रहरीले सोमबार नै मल्ललाई पक्राउ गरेपनि घटनालाई गुपचुप राख्न खोजेको थियो । तर पनि उद्योगका कामदारले मल्लविरुद्ध कारबाहीको माग गर्दै प्रदर्शन गर्दै उद्योग बन्द समेत गरेपछि प्रहरीले थप कारबाहीका लागि म्याद थप गरेको थियो ।

घटना गुपचुप राख्नका लागि प्रहरीलाई उद्योग प्रशासनले दबाब दिए पनि स्थानीय र उद्योगका कर्मचारीको प्रदर्शनका कारण मात्र प्रहरीले कारबाही अगाडि बढाएको स्थानीयले बताएका छन् ।

कोरोनाको समयमा थर्मल गनलगायतका सामाग्रीको कारोबजारी गर्दै गरेका बेला कुटनीतिक व्यक्तिले प्रयोग गर्ने गाडीमा रंगेहात पक्राउ परेका सुलभ अग्रवालका भाई साहिल अग्रवाल प्रबन्ध निर्देशक रहेको रिद्धिसिद्धि सिमेन्ट उद्योग शंकर अग्रवाल अध्यक्ष रहेको शंकर ग्रुप स्वामित्वको हो ।

प्रतिक्रिया