ब्याडमिन्टन सङ्घका अध्यक्षमा भट्ट


कञ्चनपुर – कञ्चनपुर जिल्ला ब्याडमिन्टन सङ्घको अध्यक्षमा मीनराज भट्ट निर्वाचित भएका छन् । आज सङ्घको १३ औँ अधिवेशनबाट महेन्द्रनगरका भट्ट निर्वाचित हुनुभएको हो । अध्यक्ष पदका लागि भएको निर्वाचनमा प्रतिद्वन्दी रवीन्द्र केसीलाई ३४ मतले पराजित गर्दै उनी निर्वाचित भएका हुन् ।

कूल खसेको १२४ मतमा भट्टले ७९ र केसीले ४५ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत हरकसिंह धामीले जानकारी दिए। त्यसैगरी सङ्घको उपाध्यक्षमा दिलबहादुर धामी र राजकिरण जोशी निर्विरोध निर्वाचित हुनुभएको छ भने सचिवमा राकेशबहादुर चन्द, कोषाध्यक्षमा राजेन्द्र थापा र सदस्यमा वासुदेव भट्ट, उत्तमकुमार बोहरा, लोकेन्द्र कार्की र सुरेन्द्रप्रसाद भट्ट निर्विरोध निर्वाचित भएका छन् ।

कार्यक्रममा नेपाल ब्याडमिन्टन सङ्घका केन्द्रीय उपाध्यक्ष गोविन्द स्वारले लामो समयदेखि प्रशिक्षक बिहीन रहेको कञ्चनपुरमा स्वयम्सेवक प्रशिक्षक नियुक्त गर्न केन्द्रमा पहल भइरहेको बताए। ‘ सुदूरपश्चिम दिपेश धामी, प्रिन्स दाहाल र आयुश नगारी जस्ता चर्चित खेलाडी जन्माउने भूमि पनि हो’, उपाध्यक्ष स्वारले भने,’अब स्कुलस्तरबाट ब्याडमिन्टन खेलाडी छनोट गरेर यसको विकास र विस्तारमा लाग्नुपर्छ ।’

प्रतिक्रिया