

बञ्चरेडाँडा क्षेत्रमा मानव स्वास्थ्यमा समस्या

काठमाडौँ – काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनलाई वैज्ञानिक र व्यवस्थित गर्न नसक्दा बञ्चरेडाँडा ल्याण्डफिल साइट क्षेत्रमा मानव स्वास्थ्यमा समस्या आउन थालेको छ ।
करिब १२ वर्षदेखि काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनलाई वैज्ञानिक, व्यवस्थित, प्रतिफलमुखी र वातावरणमैत्री बनाउने सरकारी प्रयास अहिलेसम्म पूर्ण हुन सकेको छैन । उपत्यकाको फोहोर व्यवस्थापनलाई वैज्ञानिक, व्यवस्थित, प्रतिफलमुखी र वातावरणमैत्री बनाउने भन्दा पनि उपत्यकाको फोहोर फाल्ने क्षेत्रमा मानवीय स्वास्थ्यमा समस्या देखापर्न थालेको छ ।
त्यहाँँका स्थानीयहरूले बञ्चरेडाँडामा फोहोर फाल्न थाल्नुअघि नै जग्गा अधिग्रहण गरेर बस्ती स्थानान्तरण गर्नुपर्ने माग राख्दै आएका छन् । तर सरकारले अहिलेसम्म त्यस्तो तयारी गरेको पाइँदैन । नुवाकोटको ओखरपौवा र बञ्चरेडाँडा ल्याण्डफिल साइट क्षेत्र उजाड बन्ने अवस्थामा पुगेको स्थानीयवासीहरुले बताएका छन् ।
उनीहरूले काठमाडौँ उपत्यकाको फोहोर उचित रूपमा दीर्घकालीन व्यवस्थापन सरकारले गर्न नसक्दा बञ्चरेडाँडा क्षेत्रमा मानव बस्ती बस्न सक्ने अवस्था नभएको उनीहरूले बताए । फोहोर व्यवस्थापनको जिम्मेवारी लिएका सम्बन्धित निकाय र सरकार फोहोर व्यवस्थापनप्रतिको बेवास्ता हुँदा नागरिकहरूले बसोबास छोड्नुपर्ने अवस्था आएको बताए ।
सरकारले बारम्बार स्थानीयहरूसँग गरेका सम्झौताहरू कार्यान्वयनमा इमानदारिताका साथ पालना समेत नगरेको स्थानीयहरूको आरोप रहेको छ । बञ्चरेडाँडाका स्थानीय प्रकाश घिमिरेले सरकारले फोहोर व्यवस्थापनलाई वैज्ञानिक बनाउन नसक्दा बञ्चरेडाँडाका स्थानीयहरूको स्वास्थ्यमा समस्या आउन थालेको बताए । उनले हरेक वर्ष ५ देखि १० जना मानिसहरू र पशुपंक्षीहरुको समेत क्यान्सरको कारण मृत्यु हुन थालेको बताए । उनले फोहोरको गन्ध पुग्ने जति स्थानमा खेती समेत हुन छोडेको बताए ।
मानिसहरूदेखि पशुपक्षी र खेतीपातीमा समेत विभिन्न रोग लाग्ने प्रकोप नै फैलिएको उनको भनाइ छ ।स्थानीयवासी घिमिरेले फोहोरको दूषित गन्धको हावाको कारण मानिसहरूलाई श्वासप्रश्वासमा नै समस्या परेको दुखेसो पोखे । उनले फोहोरको गन्धको कारण घरभित्र बसेर खाना खान समेत सक्ने अवस्था नभएको बताए ।
सिसडोल बञ्चरेडाँडा व्यवस्थापन सरोकार समिति अध्यक्ष नवराज ढुङ्गानाले राज्यले वैज्ञानिक फोहोर व्यवस्थापनमा खासै चासो नदिएको बताए । उनले फोहोरको वैज्ञानिक व्यवस्थापन गर्ने विषय नेपालको मात्रै नभएर विश्वका धेरै देशमा समस्या रहेको भन्दै वैज्ञानिक व्यवस्थापन गर्ने तरिका सिकाउन विदेश पठाएका विज्ञ समेत सिकेको सिप आफूमा मात्रै सीमित राख्ने काम गरेको बताए ।

