कमजोरी सुधार्दै यूएईसँग कमब्याक गर्छाैंः मोन्टी देशाई


काठमाडौं – नेपाली क्रिकेट टिमका मुख्य प्रशिक्षक मोन्टी देशाईले ओमानसँगको कमजोरी सुधार्दै यूएईसँग कमब्याक गर्ने बताएका छन् ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा भएको खेलमा ओमानसँग ५ रनले पराजित भएपछि बोल्दै मोन्टीले यस्तो बताएका हुन् ।

उनले टिमले वर्षभर गरेको मेहनत र विश्वासले सेमिफाइनलको खेलमा कमब्याक गर्ने बताए ।

उनले भने,‘हामीले यो वर्षभरी निकै मेहनत गरेका छौं। हामीले हाम्रो भूमिकाको बारेमा कुरा गरेका छौं । हामी भोलि हरेक कुरालाई सुधार गर्दै कमब्याक गर्नेछौं ।हामीसँग २४ घण्टा छ । हामी त्यो सुधारेर भोलि खेल्नेछौं । भोलि पुन एउटा मौका छ ।’

ओमानसँगको हारले खेलाडी र आफू पनि दुखित रहेको उनले बताए । त्यस्तै,मोन्टीले नेपालका अलराउन्डर दीपेन्द्रसिंह ऐरीलाई मैदान फर्काउने प्रयास भइरहेको बताए। ओमानसँगको खेलपछि मोन्टीले दीपेन्द्रलाई मैदान फर्काउन सबै काम गरिरहेको बताए।

युएईविरुद्धको खेलका लागि दीपेन्द्र फर्कन्छन् वा फर्कन्नन् भन्नेबारे उनले केही खुलाएनन्। ओमानसँग बिहीबार पराजित भएको नेपालले भोलि हुने सेमिफाइनलमा युएईसँग ख‍ेल्दैछ। युएईलाई हराए नेपाल आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने टी-२० विश्वकपमा छनोट हुनेछ।

 

प्रतिक्रिया