जन्ममितिमा विवाद रहेका र कुटनीतिक मर्यादा नाघ्ने नै सेनापतिको लाइनमा !


काठमाडौं – तुलनात्मक रुपमा नेपाली सेनाभित्रको विवाद कमै आउने गर्दछ । तर पनि पछिल्ला दिनमा सेनाभित्रको बेथिति सार्वजनिक हुँदै आएको छ ।

पछिल्लोपटक कुटनीतिक मर्यादा नाघेका एक उपरथीलाई कारबाही गर्नुपर्ने ठाउँमा बढुवा गरी भावि नेतृत्वका लागि अगाडि बढाइरहेको प्रसंग बाहिर आएको छ । जेठको अन्तिम साता राजधानीमा आयोजित शान्ति स्थापना कार्यमा प्रविधिका लागि सहकार्य अन्तर्राष्ट्रिय गोष्ठीका अवसरमा कूटनीतिक समूदायका सैनिक सहचारीसँग अभद्र रुपमा प्रस्तुत भएका उपरथी ताराध्वज पाण्डेलाई बढुवा गर्दै प्रधानसेनापतिको ‘पुरस्कार’ दिने बाटो खोल्न लागेको छ ।

सेनाले विवादास्पद उपरथी पाण्डेलाई प्रधानसेनापतिको रोलक्रममा राख्ने गरी रथी बढुवाका लागि सैनिक सेवा नियमावली २०६९ को व्यवस्था अनुरुप सूचना प्रकाशित गरेको छ । ७ दिनभित्र सिफारिस गर्ने गरी २९ असोजमा प्रकाशित गरेको सूचनामा दशैं बिदा र प्रधानसेनापतिको चीन भ्रमणका कारण अगाडि बढ्न नसकेपनि प्रधानसेनापति प्रभुराम शर्माको नेपाल आगमनसँगै अगाडि बढेको जनाइएको छ । अब रक्षा मन्त्रालयमा पुगेको फाइल मन्त्री पूर्णबहादुर खड्कामार्फत् मन्त्रीपरिषद्मा पेश हुने जनाइएको छ ।

सैनिक नियमावलीअनुसार सूचनाप्रकाशित भएको समयसीमा पुगेपछि मन्त्रीपरिषद्मार्फत् बढुवाको निर्णय हुन्छ । जसबाट पाण्डे रथीमा बढुवा हुने निश्चित प्रायः छ ।

रथीमा बढुवा सिफारिसमा परेका पाण्डेविरुद्ध उजुरी परिसकेको छ । उनको जन्ममिति दुईवटा देखिएको छ । पाण्डेले जागिर खाँदा पेश गरेको नागरिकताअनुसार उनको जन्ममिति २०२३ साल मंसिर २३ देखिए पनि शैक्षिक प्रमाणपत्रमा भने २०२१ माघ १२ देखिएको छ । उक्त उजुरीमा पाण्डेले जन्ममिति कीर्ते गरेर जागिर खाएको भन्दै छानबिनको माग गरिएको छ ।

नेपाली सेनामा जन्ममितिसम्बन्धी विवाद देखिएको खण्डमा जुन मितिले पहिले अवकाश पाउँछन् सोही अनुसारको मितिबाट अवकाश दिने प्रचलन रहँदै आए पनि पाण्डेको हकमा भने सो नियम लागू नभएपछि जंगीअड्डा केही विवादित बनेको हो ।

उपरथी पाण्डे पटकपटक विवादमा तानिइरहने व्यक्ति हुन् । उनले अरुलाई होच्याउने र जथाभावी बोलेकै कारण धेरैपटक चेतावनी पाइसके पनि पछिल्लो समय रथी बढुवाको लाइनमा रहेकाले सेनाको भावि नेतृत्व कस्तो हुने हो भन्ने प्रश्न उठ्न थालेको छ ।

 

प्रतिक्रिया