रामकोटलाई पर्यटकीय क्षेत्र बनाउने अभियान ओझेलमा


बलेवा – बाग्लुङको काठेखोला गाउँपालिका–५ को रामकोटलाई पर्यटकीय क्षेत्र बनाउने अभियान ओझेलमा परेको छ । लामो समयदेखि स्थानीय र जनप्रतिनिधिले धार्मिक गन्तव्य र पर्यटकीय क्षेत्र बनाउने आश्वासन दिए पनि पूर्वाधार निर्माण तथा अन्य क्रियाकलापले प्राथमिकता नपाएका हुन् ।

देवघाटधामका सञ्चालक ज्ञानानन्द सरस्वतीले लामो समयसम्म रामकोटको संरक्षण गरेका थिए । उनी देवघाट झरेपछि स्थानीय तह, प्रदेश र सङ्घीय क्षेत्रको बजेट तथा कार्यक्रम नपरेको हो । ज्ञानानन्द सरस्वतीका गुरु परमानन्दसमेत यही जन्मेका थिए । बिहुँमा रहेको रामकोट र त्रिपुरेश्वर मन्दिर गण्डकी प्रदेशकै अग्लो मन्दिर भएको दाबी गरिएको छ । प्रवद्र्धनात्मक कार्यक्रम भने हुन सकेको छैन ।

अग्लो स्थानमा भएकाले धेरै हिमाल र स्थान देख्न सकिन्छ । यहाँ पाँच हजार ५५५ केजीको शिवलिङ्गसमेत स्थापित छ । सयौँ रोपनी जमीनको क्षेत्रमा रहेको यो मन्दिरसँगै जङ्गल र जङ्गली जनावर संरक्षित छन् । यहाँ चितुवा, मृगलगायतका जनावर र कालिज पक्षी पनि पाइने स्थानीय भीष्म कँडेल बताउछन् । अहिले उक्त मन्दिर र आश्रम रहेको स्थानमा वस्ती पातलो भएकाले चोरी शिकारी बढेकाले संरक्षणका कार्यक्रम आवश्यक भएको उनको भनाइ छ ।

वडा तहको बजेटले सयौँ रोपनी जमीनलाई घेराबार लगाउन नसकिने भएकाले गाउँपालिका र प्रदेश सरकारसम्म माग गर्नुपर्ने उनले बताए । ‘कार्ययोजना बनाएर प्रदेश तहमा माग गर्नैपर्ने भएको छ’, कँडेलले भने, ‘धार्मिक आस्था र प्राकृतिक सौन्दर्य लोप भयो भने अर्बौंको सम्पत्ति नष्ट हुनेछ ।’ यहाँ बसेका साधुसन्तले हातमै आहारा राखेर कालिज, परेवा र अन्य चराचुरुङ्गीलाई दिने गरेको जानकार बताउँछन् । सयौँ चरा मानिस झै आएर आश्रममै बस्ने गरेकाले त्यही दृश्य हेर्न पनि धेरै मानिस पुग्ने गरेका छन् ।

गाउँपालिका अध्यक्ष अमर थापाले पर्यटन प्रवद्र्धनका कार्यक्रम सञ्चालन गर्ने बताउछन् । नेपाल पर्यटन बोर्डको समेत लगानी ल्याउनका लागि प्रस्ताव पठाएकामा सुनुवाइ नभएको थापाले बताए । रामकोट नजिकै शिवधुरी घरवास९होमस्टे० पनि सञ्चालनमा छ । होमस्टेमा बस्ने गरी पर्यटक भित्र्याउने योजना सार्वजनिक गर्न स्थानीयवासीले पालिकामा आग्रह गरिरहेका छन् ।

प्रतिक्रिया