सशस्त्र प्रहरीले मधेशमा ६ महिनामा २४ करोड बढी अवैध सामान लियो नियन्त्रणमा


काठमाडौं- सशस्त्र प्रहरी बल नेपालले मधेश प्रदेशका जिल्लाहरूमा ६ महिनाको अवधिमा २४ करोड रुपैयाँभन्दा बढीको अवैध सामान नियन्त्रणमा लिएको छ। २०७९ चैतदेखि २०८० भाद्र १५ गतेसम्म सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनीको मुख्यालय महोत्तरी तथा मातहतका इकाईले उक्त रकम बराबरको सामान बरामद गरेका हुन्।

सो अवधिमा २० करोड ७७ लाख रुपैयाँ बराबरको चोरीपैठारीको किराना सामान, लत्ताकपडा, मोटर पार्ट्स, सवारी साधन लगायतका सामान नियन्त्रणमा लिइएको जानकारी सशस्त्रले दिएको छ। यसैगरी १ करोड १ लाख ४४ हजार रुपैयाँ बराबरको पशुचौपाया, स्रोत नखुलेको ९९ लाख ४ हजार नेपाली र २८ लाख १७ हजार भारतीय रुपैयाँ बरामद गरिएको थियो।

सशस्त्रका अनुसार सोही अवधिमा ७९ लाख ४२ हजार ६ सय ५० रुपैयाँ बराबरको करिब २ हजार ८ सय १३ क्युफिट काठ र ८ लाख ४८ हजार ५ सय ५३ रुपैयाँ बरारको सुन तथा चाँदी बरामद भएको छ।

यसैगरी करिब १ हजार ३ किलो गाँजा, ३७.७१ किलो चरेस, ५ हजार ७ सय ७ वटा नर्फिन, फेनार्गन, डाईजेपाम, कोरेक्स, सिरिन्ज, नाईट्रोभेटलगायतका लागुऔषध बरामद भएको छ। ४ नाल हतियार, २० वटा गोली, २ वटा म्याग्जिन र १२ वटा कार्टिज बरामद गरेको छ।

यही अवधिमा भारतमा बेचबिखन गर्न लागिएका २० जना नेपाली चेलीबेटीको उद्धार गर्नुका साथै उक्त कार्यमा संलग्न १ सय १० जनालाई पनि पक्राउ गरिएको छ ।

प्रतिक्रिया