

कमिशनको चक्करमा ट्रमा सेन्टर प्रमुख डा. रिजाल, ‘किट’ खरिदका लागि आफूनिकट व्यवसायीलाई जिम्मा दिने तयारी

काठमाडौं – राष्ट्रिय ट्रमा सेन्टरको ल्याबमा प्रयोग हुने किट खरिदमा सेन्टरका प्रमुख डा. बद्री रिजाल कमिसनको चक्करमा परेका छन् । रिजालले रोग पत्ता लगाउन प्रयोग हुने ल्याबको किट खरिदका लाग रिएजेन्टको मिलेमतोमा आफूनिकट ‘डिसोभन’ ओम सर्जिकललाई दिने गरी टेण्डर खुलाएका छन् । भदौ २० गते खुलाइएको टेण्डरको अन्तिम म्याद भने यही असोज १९ गते रहेको छ ।
रिजाल ल्याबका विभिन्न ३४ किसिमका सामानहरु खरिदका लागि आफूनिकट व्यवसायीलाई मात्रै हुने गरी विश्व स्वास्थ्य संघको प्रिक्वारिफाइड भनेर माग गरिए पनि भारतबाट उत्पादित सामाग्री ल्याउने गरी आफूनिकट ‘डिसोभन’ ओम सर्जिकललाई खरिद गर्न दिई करोडौं कमिशन लिने चक्करमा लागेका छन् । त्यसका लागि अन्य व्यापारीले विरोध जनाए पनि डा. रिजालले स्वास्थ्य मन्त्रीको नाम लिँदै टेण्डर अरुलाई नदिने बताएको व्यवसायीहरुले जनाएका छन् । मन्त्रीलाई नै बदनाम गराउने अवैध काम गर्न लागेकोमा अन्य व्यवसायी एवं ट्रमा सेन्टरकै कर्मचारीहरुले डा. रिजालको उक्त कदमको विरोध जनाउँदै विभिन्न निकायहरुमा छानबिनका लागि निवेदन समेत दिएका छन् ।
उनीहरुले आम जनताको स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरी कमिशनको चक्करमा रोग पत्ता लगाउने जस्तो किट खरिद गर्न लागेपछि ल्याबका साथै कर्मचारीहरुले प्रधानमन्त्री कार्यालय, अख्तियार दुरुपयोग अनुसन्धान आयोग, सार्वजनिक खरिद अनुगमन कार्यालय र स्वास्थ्य मन्त्रालयले छानबिन गर्नुपर्ने जनाएका छन् ।
डा. रिजाल प्रमुखमा नियुक्त भएपछि यसअघि पनि बिरामीहरुलाई निजी अस्पताल जान बाध्य बनाउने, विरामीको उपचारका लागि प्रयोग हुने विभिन्न सामाग्रीहरु आफू निकट व्यवसायीको माध्यमबाट खरिद गर्न लगाउनेलगायतका कार्य गरेको जनाइएको थियो ।
डा. रिजालले बेड पाएका बिरामीहरुलाई पनि लामोसमयसम्म अपरेशन वा थप उपचार नगरि बिरामीहरुलाई राख्ने गरेको जनाइएको थियो । साथै अपरेशनमा प्रयोग हुने सामाग्रीहरु निश्चित व्यापारीहरुसँग खरिद गर्न लगाइने पनि जनाइएको छ । साथै बिरामीहरुलाई बेड खाली नभएको बहानामा ४/५ महिनाको समयावधि दिए पनि अस्पतालबाट भनिएको स्थानबाट औषधी खरिद गरेमा भोलि÷पर्सीपल्टै अपरेशन गर्ने गरिएको पनि एक कर्मचारीले बताएका थिए । उनले भने, ‘अपरेशनमा प्रयोग हुने औषधी ट्रमा सेन्टर पछाडिको पसलबाटै किन्नुपर्छ, तर हड्डीमा लाग्ने स्टील चाहिँ बिरामीको बेड–बेडसम्मै आइपुग्छ ।’
डा. रिजाल निर्देशकमा नियुक्ति भएपछि पनि आफ्नै निजी अस्पतालमा बिरामी जाँच्न जाने गरेको पनि जनाइएको छ । साथै उनले व्यवस्थापनको जानकारी बिना कर्मचारी नियुक्त गर्ने, आफू निकटलाई टेण्डरका लागि सेटिङ गर्ने गरेको पनि ती कर्मचारीले बताए । त्यसबारेमा डा. रिजालसँग सम्पर्क गर्न खोज्दा भने सम्पर्क भएन ।

