

सत्ता नेतृत्व तथा सहकार्यमा नजाने निर्णय गर्दै नेपाली कांग्रेस, कारण यस्तो छ

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अबको सत्ता समीकरणमा सहभागी नहुने निर्णय गर्ने भएको छ।
विहीबार अपरान्ह ३ बजे पार्टी कार्यालय सानेपामा यहि विषयमा छलफलका लागि पदाधिकारी तथा पूर्वपदाधिकारीको बैठक डाकिएको छ। नेकपा पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल पक्षले सरकारको नेतृत्वका लागि प्रस्ताव गर्दै सहकार्य गर्न प्रस्ताव गरेका थिए।
सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनको निर्णय बदर गर्दै पुनःस्थापनाको फैसला सुनाएपछि नयाँ सरकार समीकरणको राजनीतिक चलहलपहल चलिरहेको छ। जसमा नेपाली कांग्रेस निर्णायक बनेको छ।
नेताहरूबीच भएका अनौपचारिक परामर्शहरूमा अहिले कम्युनिस्टको कुनै पनि कित्तासँग मिलेर सत्तामा जानु उपयुक्त नहुने निष्कर्श निकालिएको छ। सोही निष्कर्शलाई बैठकमा प्रस्ताव र छलफलका लागि राखिने भएको छ।
त्यसको त संसद पुनःस्थापनाको फैसलाले संविधान जोगाउने काम भएको तर कांग्रेस अहिले नै सरकारमा जान नहुने धारणा रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौलालगायतका नेताले बताइसकेका छन्।
कांग्रेसका अधिकांश नेताहरू अहिले सरकारमा जाने भन्दा पनि प्रक्रियागत र संवैधानिक हिसाबले चुनावमा जानु नै उपयुक्त हुनेमा सहमत छन्। सभापति शेरबहादुर देउवा पनि चुनावका पक्षमा नै उभिएका थिए।
अहिले निर्णायक देखिएका देउवालाई सरकार नेतृत्वको प्रस्ताव पर्नासाथ उनले पार्टीमा छलफल गरेर मात्र निर्णय दिने बताएका थिए। अर्कातिर नेपाली कांग्रेसका युवा नेता तथा केन्द्रीय सदस्य गगन थापा पनि सरकारमा जानु नहुने मतमा देखिएका छन्।
‘हामी सदनमा प्रमुख प्रतिपक्षीकै हैसियतमा रहनेछौं, कम्युनिस्टसँगको सहकार्य हुनेछैन’, स्रोतले भन्यो,‘कम्युनिस्टका दुवै पक्ष मिलेर सरकार बनाए केही फरक पर्दैन तर कांग्रेस सरकारमा जाँदैन।’
प्रक्रियागत हिसाबले चुनावी मैदानमा गए नेपाली कांग्रेस एक्लैले यसबेला दुई तिहाई बहुमत ल्याउन सक्ने मतमा नेताहरू रहेका छन्। ‘अब चुनावी तयारीमा जुट्नुपर्छ। सदनमा अल्पमतको सरकार चल्न सक्ने अवस्था नभएपछि प्रतिनिधि सभाको औचित्य सकिन्छ र नयाँ चुनाव हुनेछ’, एक नेताले भने,‘त्यो अवस्थामा जनताले कांग्रेसलाई नै पत्याउने हुन्। अहिले नेकपाको यो असंवैधानिक दुवै पक्षसँग सहकार्य सम्भव नहुन सक्छ।’

