

प्रतिनिधि सभा पुनःस्थापनाः खुशी भए युवा विद्यार्थी, गरे अविरजात्रा

काठमाडौं– सर्वोच्च अदालतको संवैधानिक इजलाशले प्रतिनिधि सभा पुनःस्थापनाको फैसलापछि युवा विद्यार्थी खुशी भएका छन्।
लामो संघर्षबाट प्राप्त भएको संविधान जोगाउने काम अदालतले गरेको भन्दै बुधबार नेकपा पुष्पकमल दाहाल प्रचण्ड–माधवकुमार नेपाल समूहका युवा विद्यार्थीलगायतले बिजय जुलुस गरेको थियो।
जुलुस शान्ति बाटिकामा आएर सभामा परिणत भयो। ‘हामीले लामो संघर्ष गरेर संविधानसभामार्फत संविधान र संसदमाफर्त लोकतन्त्र ल्याएकोमा प्रतिगमनले पाइला टेकेको थियो, सर्वोच्च अदालतले त्यसतर्फ जान दिएन’, उक्त समूहका अनेरास्ववियु संयोजक रञ्जित तामाङ भन्छन्,‘यो अग्रगमनको जित हो। प्रतिगमनले अब घुँडा टेक्छ।’
प्रधानमन्त्री केपी शर्मा ओलीको कदमले मुलुकलाई अँध्यारोतिर लैजाने कुचेष्टा गरे पनि त्यसलाई अदालतले सफल हुन नदिएको युवा विद्यार्थी नेता मदन चुँडाल बताउँछन्। उनी भन्छन्,‘सर्वोच्च अदालतको गरिमाले नै लोकतन्त्र जीवित भएको प्रतीत गराएको छ।’
उक्त सभालाई नेकपाकी नेत्री पम्फा भुसाललगायतले सम्बोधन गरेका थिए। अब प्रधानमन्त्री ओलीले राजीनामा दिएर सच्चिन आवश्यक रहेको युवा विद्यार्थीको भनाई छ।

