

प्रधानमन्त्रीले राजीनामा नदिने बताउँदै मन्त्री श्रेष्ठ भन्छन्– हामी कायर हो र?

काठमाडौँ – शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले कसैले राजीनामा माग्दैमा प्रधानमन्त्री केपी ओलीले राजीनामा नदिने स्पष्ट पारेका छन् । पछिल्लो राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै मन्त्री श्रेष्ठले यो अवस्थामा प्रधानमन्त्री ओलीले कुनैपनि हालतमा राजीनामा नदिने दावी गरेका हुन् ।
आज (बुधबार) सानोठिमी भक्तपुरमा भएको सिटिइभीटीको ३३ र्औ वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री ओलीले कुनै पनि हालतमा राजीनामा नदिने बताएका हुन् । ‘हामी कायर हो र, राजीनामा दिन ?, कुनैपनि हालतमा राजीनामा आउँदैन । प्रधानमन्त्रीले अविश्वासको प्रस्ताव फेस गर्नुहुन्छ । संसद सुचारु भएपछि प्रकृयामा जाने र सोही आधारमा प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी ओलीले फेस गर्ने बताउनु भएको छ ।’
मन्त्री श्रेष्ठले अगाडी भनेका छन् ‘अदालतले गरेको निर्णयलाई हामीले सम्मान गर्छौँ तर यो निर्णयले झन् विवाद बढाएको छ’ ‘हामी जनताबाट आएका हौँ, जनताले नै अहिलेको संकटकालीन अवस्थाको मुल्याङ्कन गर्नेछन् ।’
संसद् पुनःस्थापना भएलगत्तै केही नेताले केहीलाई प्रधानमन्त्रीको सपना बाँडेको उल्लेख गर्दै उनले सपना बाँड्दैमा कोहीपनि प्रधानमन्त्री हुन नसक्ने स्पष्ट पारे ।
प्रधानमन्त्री ओलीले ५ पुसमा प्रतिनिधि सभा विघटन गर्ने निर्णय गरेका थिए। मन्त्रिपरिषदको रिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले प्रतिनिधि सभा विघटन गरी आगामी १७ र २७ वैशाखमा निर्वाचतको मिति घोषणा गरेकी थिइन्।
यसविरुद्ध सर्वोच्च अदालतमा १३ वटा रिट निवेदन परेका थिए। लामो बहसपछि सर्वोच्च अदालतको संवैधानिक इजलासले मंगलबार प्रतिनिधि सभा विघटन गर्ने निर्णय बदर गर्ने फैसला सुनाएको थियो। यससँगै सर्वोच्चले १३ दिनभित्र संसद् अधिवेशन बोलाउन पनि आदेश गरेको छ।

