

मारिएका सैनिकको अपमान गर्ने ६ जनालाई चीनले गर्यो पक्राउ

वेइजिङ – गत जुन महिनामा लद्दाखमा भारतसँग भएको भिडन्तमा मारिएका चार चिनियाँ सैनिकको अपमान गरेको आरोपमा चीनले ६ जनालाई पक्राउ गरेको छ ।
मारिएका ती चार सैनिकलाई चीनको सरकारी सञ्चारमाध्यमले शहीदका रूपमा प्रशंसा गर्ने प्रचार अभियान चलाएको छ । चीनका विभिन्न भागबाट ती ६ जनालाई पक्राउ गरिएको र १५ दिनसम्म हिरासतमा राखिने प्रहरीको भनाइ छ ।
अर्का एक आरोपित विदेशमा बस्ने र चीन फर्किनेबित्तिकै उनलाई पक्राउ गरिने जानकारी दिइएको छ । राष्ट्रपति सी चिनफिङको शासनमा सरकारले राष्ट्रिय नायकको आलोचना गर्ने वा उनीहरूका विषयमा आधिकारिक भाष्यमा प्रश्न उठाउने आवाजहरूलाई सरकारले दमन गर्ने गरेको छ ।
सन् २०१८ मा चीनले एक कानून पारित गरेर मानिसहरूलाई नायक तथा शहीदको अपमान वा मानहानि गर्न प्रतिबन्ध लगाएको छ । शुरूमा यो देवानी मुद्दाका रूपमा ल्याइएको भए पनि यसलाई फौजदारी अपराध बनाउने गरी संशोधन गरिएको छ र अर्को महिनादेखि लागू हुनेछ ।
भारतसँग सीमामा भएको भिडन्तका विषयमा बेइजिङको संवेदनशीलतालाई यी पक्राउहरूले उजागर गरेका छन् । एजेन्सी

