
लाखौं विद्यार्थीको पठनपाठन सुचारु गराउन केन्द्रीय सदस्य भट्टको माग
काठमाडौं – नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य भुवन भट्टले शिक्षकहरुको जायज मागलाई सम्बोधन गरी लाखौं विद्यार्थीहरुको पठनपाठन सुचारु गराउनका लागि पहल गर्न सरकारसँग माग गरेका छन् ।
केन्द्रीय सदस्य भट्टले एक विज्ञप्ति जारी गर्दै शिक्षकको पेशागत सुरक्षा,हकहित र सम्मान लगायतका जायज मागहरु सम्वोधन गर्न सरकारलाई आग्रह गरेका छन् ।
उनले विज्ञप्तिमा भनेका छन्, ‘नेपाल शिक्षक महासंघद्वारा विभिन्न माागहरु राख्दै सामुदायिक विद्यालयका सबै शैक्षिक गतिविधि ठप्प पार्ने गरी यही असोज ३ गते देखि आन्दोलका कार्यक्रम घोषणा गरेको विषयप्रति नेपाल विद्यार्थी संघको गम्भिर ध्यानाकर्षण भएको छ ।
संसदबाट पारित हुन लागेको विधालय शिक्षा विधेयक २०८० का कतिपय प्रावधानहरु शिक्षकहरुको हित विपरित रहेको र शिक्षकहरुले सरुवा, बढुवा, नियुक्ति, कार्य सम्पादन मूल्यांकन, सेवा सुविधा नियमन लगायतका विषयमा विधेयक पूर्वाग्रही हुनु बाञ्छनीय होइन । शिक्षकका पेशागत सुरक्षा, हकहित र सम्मानको ग्यारेण्टी राज्यले गर्नुपर्छ र शिक्षण पेशालाई मर्यादित बनाउनु पर्छ भन्ने शिक्षकहरुको मागका प्रति हाम्रो पूर्ण ऐक्यबद्धता छ । तसर्थ शिक्षकहरुले अघि सारेका जायज मागलाई यथाशिघ्र सम्बोधन गरी जारी आन्दोलनका कार्यक्रमहरु फिर्ता लिने वातावरण निर्माण गर्न हामी सरकार पक्षलाई हार्दिक अनुरोध गर्दछौं ।’
उनले आन्दोलनरत शिक्षकहरुलाई समेत देशको परिस्थितिलाई ध्यानमा राख्दै शैक्षिक पठनपाठन सुचारु गर्ने वातावरण निर्माण गर्न समेत आह्वान गरेका छन् । विज्ञप्तिमा भनिएको छ, ‘साथै देशको प्रवुद्ध वर्ग, जो सामाजिक न्याय, चेतना र ज्ञानको पर्याय हो , त्यही वर्ग आन्दोलित हुँदा लाखौं विद्यार्थीको भविश्य अन्योलमा पर्ने भएको हुँदा परिस्थितिको गाभ्भीर्यतालाई समेत ध्यानमा राखी विद्यालय खोली शैक्षिक पठनपाठनलाई सुचारु गर्ने वातावरण निर्माण गर्न आन्दोलनरत सबै शिक्षकहरुलाई समेत हार्दिक आह्वान गर्दछौं ।’




कागजपत्र |
