नेम्वाङलाई सम्झिँदै ओलीले भने– देशले असल नेता गुमायो, अझै पत्यार लागेको छैन


काठमाडौं – नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सुवास नेम्वाङको निधन भएको अझै पत्यार नलागेको बताएका छन् ।

आज (मंगलबार) पार्टी कार्यालयमा आयोजित ‘सुवास र संविधानु विषयक अन्तरक्रिया कार्यक्रममा उनले भने, ‘उहाँको स्मृतिमा बोल्नुपर्दा अनौठो लागिरहेको छ । अझै पत्यार नभएको जस्तो स्थिति भएको छ ।’

उनले राति निधनको खबर आउँदा नपात्याएको बताए । नेम्वाङको निधनबाट एमालेले असाधारण क्षति बेहोरेको उनले बताए । सिंगो देशले नै असल नेता गुमाएको उनको भनाइ छ । उनले देश बनाउन नेम्वाङले गरेको भूमिका सकारात्मक भएको बताए । ‘सुवासजीले देशलाई जस्तो बनाउन प्रयास गर्नुभएको थियो । सकारात्मक प्रयास गर्नुभएको थियो । त्यो प्रयास अघि बढाउँदा उहाँप्रतिको श्रद्धाञ्जली हुने छ,’ उनले भने ।

नेम्वाङले देश, जनतालाई केन्द्रित राखेर गरेको राजनीतिबाट अरूले सिक्नुपर्ने उनले बताए । मिठो बोल्ने नेम्वाङले कहिले पनि स्वार्थी कदम नचालेको ओलीको भनाइ छ । ‘देशभक्त हुनुहुन्थ्यो । कहिले पनि स्वार्थी कदम चाल्नुभएन,’ ओलीले भने ।

नेम्वाङ आफूले पाएको जिम्मेवारी कुशलतापूर्वक निर्वाह गर्ने व्यक्ति भएको उनको भनाइ छ । ‘सुवासचन्द्र नेम्वाङजी यस्तो व्यक्ति हो, मनदेखि आदरभाव उर्लिएर आउँछ । आधारभूत गुणमा कहीँ खोट नभएको व्यक्ति,’ उनले भने, ‘उहाँले अवसर पाउँदा, जिम्मेवारी पाउँदा कुशलताका साथ सफलतामा पुर्‍याउनुभयो ।’

प्रतिक्रिया