


गठबन्धनमा भएको सहमतिलाई कार्यान्वयन गरेमात्रै देश अस्थिरताबाट जोगिने छ᠄ प्रकाशमान सिंह

काठमाडौँ – नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले गठबन्धन बन्दाको सहमतिलाई सबैले कार्यान्वयन गरेमात्रै देश अस्थिरताबाट जोगिने बताएका छन् ।
आज काठमाडौंको शोभा भगवतीमा गणेशमान सिंह को २६ औँ स्मृति दिवसको अवसरमा उनको शालिकमा माल्यापर्ण गर्दै उनले यस्तो बताए ।
उनले सरकार गठन हुँदा भएको दलहरुबीचको समझदारीलाई नै सबै दलले कार्यान्वयन गरेर जाँदा उपयुक्त हुने बताए ।
उनले समाजमा रहेका कमी कमजोरी र असन्तुष्टिलाई समेट्न सकिने माध्यम पनि समझदारी कार्यान्वयन भएको बताए ।
उनले पार्टी भित्र कांग्रेस नेतृत्वमा सरकार बन्नुपर्ने धारणा आएपनि व्यक्तिगत कुरामा भन्दा केन्द्रीय समितिले गरेको निर्णय आधिकारिक हुने बताए ।
नेता सिंहले संविधानको भावना र मर्मअनुरुप चाँडो भन्दा चाँडो तीन तहका सरकारलाई दिनुपर्ने अधिकार दिएर राम्रोसँग काम गर्नुपर्ने बताए ।

