

भारतविरुद्ध श्रीलंकाले पहिले ब्याटिङ गर्दै

काठमाडौं – एसीसी एसिया कप क्रिकेटको फाइनल खेलमा डिफेन्डिङ च्याम्पियन श्रीलंकाले भारतविरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । श्रीलंकाको आर प्रेमदासा स्टेडियममा टस जितेर श्रीलंकाले ब्याटिङ रोजेको हो ।
श्रीलंकाले गत संस्करण पाकिस्तानलाई फाइनलमा पराजित गरेको थियो । डिफेन्डिङ च्याम्पियन श्रीलंका यस संस्करणको समेत उपाधि जितेर सातौं पटक विजेता बन्न चाहन्छ ।
एसिया कपको सर्वाधिक सफल टोली भारत आठौं पटक च्याम्पियन बन्ने लक्ष्यमा छ । रोहित शर्माको कप्तानीमा सन् २०१८ मा अन्तिम पटक भारतले उपाधि जितेको थियो । एसिया कपको फाइनलमा १३ वर्षपछि भारत र श्रीलंकाको टोली आमनेसामने हुँदैछन् ।
यी दुईबीचको अन्तिम फाइनल खेल सन् २०१० मा भएको थियो । सो फाइनलमा भारतले श्रीलंकालाई ८१ रनले पराजित गर्दै उपाधि जितेको थियो ।
यस अघि भारत र श्रीलंकाबीच सात पटक फाइनलमा भेट भएको छ । भारतले चार पटक फाइनल जित्न सफल भयो । श्रीलंकाले तीन पटक भारतले पराजित गरेको छ । सुपर फोरमा भारतले श्रीलंकासँग कठिन जित निकालेको थियो ।

