

औषधि बिक्री वितरण गर्न पाउनुपर्ने सीएमए सङ्घको माग

काठमाडौँ – नेपाल सीएमए सङ्घले उठाएका माग सरकारले सम्बोधन नगरे अदालत जाने चेतावनी दिएको छ ।
उनीहरूले स्वास्थ्य क्षेत्रमा निरन्तर योगदान पुर्याइरहेका सीएमएले उठाएका माग सरकारले सम्बोधन गर्नेतर्फ चासो नदेखाएको गुनासो गरेका छन् ।
नेपाल सीएमए सङ्घ जिल्ला कार्यसमिति रुपन्देहीको पाँचौँ जिल्ला अधिवेशनमा उनीहरूले औषधि बिक्रीवितरण गर्न पाउनुपर्ने माग गरेका हुन् । सरकारी स्वास्थ्य संस्थाबाट औषधि वितरण गर्न पाउने तर निजी क्लिनिकबाट औषधि वितरण गर्न नपाउनु दुःखद भएको उनीहरूको भनाइ छ ।
केन्द्रीय उपाध्यक्ष गोपाल उपाध्यायले माग सम्बोधन गर्न आन्दोलन र अदालती प्रक्रियालाई सँगसँगै लैजाने बताए । उनले मर्यादाभित्र रहेर क्लिनिक सञ्चालन गर्न पाउनुपर्ने माग गरे । त्यस्तै सङ्घका केन्द्रीय सदस्य जनकराज पन्तले सीएमए पद नभई उपाधि भएको बताए ।
भीम अस्पताल विकास समितिका पूर्वअध्यक्ष आनन्दप्रसाद गुप्ताले कोभिड(१९ मा सीएमएलगायत स्वास्थ्यकर्मीको योगदान महत्त्वपूर्ण रहेको चर्चा गरे ।
लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) का युवा नेता महेन्द्र गुप्ता (प्रशान्त) ले स्वास्थ्यकर्मीप्रति गरिएको दुर्व्यवहार निन्दनीय भएको बताए । उनले सीएमए सङ्घले उठाएको उचित माग सम्बोधन गर्नुपर्ने बताए । अधिवेशनले पुनः शशीकान्त उपाध्यायको अध्यक्षतामा २३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको छ ।

