


तीनकुने सामूहिक हत्या प्रकरण : ‘अहिले नै घटनामा संलग्न व्यक्ति भन्न सकिने अवस्था छैन’

काठमाडौँ – गत शुक्रबार राति तीनकुने स्थित गैह्रीगाउँमा भएको सामूहिक हत्या प्रकरणमा प्रहरीले हालसम्म १५ जनासँग सोधपुछ गरेको छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख एसएसपी सोमेन्द्रसिंह राठौरका अनुसार हालसम्म करिब १५ जनासँग सोधपुछ गरिएको हो ।
शुक्रबार राती घटना भई सोही रात नै दीपेन्द्र राई नियन्त्रणमा रहेको भए पनि घटनामा उनको संलग्नता भएको वा नभएको बारे कुनै जानकारी छैन । प्रहरीसँगको प्रारम्भिक सोधपुछमा दीपेन्द्रले घटनाबारे आफूलाई केही थाहा नभएको बताएका छन् । घटना लगत्तै प्रहरी कार्यालयमा पुगेका दीपेन्द्र अत्यधिक नसामा रहेका थिए । हत्याका विषयमा आफूलाई केही थाहा नभएको र रगत लतपतिएको अवस्थामा देखेपछि आफू प्रहरी कार्यालयमा आएको दीपेन्द्रले बयान दिएका छन् ।
उपत्यका प्रहरी कार्यालय रानीपोखरीले घटनाबारे अनुसन्धान गर्न उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सोमेन्द्रसिंह राठौरको संयोजकत्वमा ५ सदस्यीय अनुसन्धान समिति गठन गरेको छ । समितिमा जिल्ला प्रहरी परिसर काठमाडौंका डीएसपी हरि खतिवडा, काठमाडौँ उपत्यका प्रहरी कार्यालयका डीएसपी सुवास खड्का, काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंका डीएसपी सुरक्षा केसी र प्रहरी वृत्त नयाँ बानेश्वरका इन्स्पेक्टर वीरेन्द्र केसी सदस्य रहेका छन् ।
पक्राउ गरिएका व्यक्ति दीपेन्द्र राईको भूमिका के हो भन्ने प्रश्नमा एसएसपी राठौरले अहिले नै केही भन्न नसकिने बताए । समितिले अनुसन्धान गरिरहेको भए पनि घटनामा संलग्नताको अन्य क्लु भेटिएको छैन ।
गत शुक्रबार राती अन्दाजी ११ः५५ बजे तीनकुनेको गैरीगाउँमा रहेको दिव्या सःमिल भित्र ४ जनाको सामूहिक हत्या भएको थियो । घटनामा दोलखा घर भई सोही काठ मिलमा गेटपालेको काम गर्ने ५६ वर्षीय कुमार भुजेल, उनकी श्रीमती अन्दाजी ५२ वर्षकी अम्बिका भुजेल, कुमारकी आमा ७६ वर्षीय सुभद्रा भुजेल र सोही स्थानमा काम गर्ने मोरङ बेलबारी स्थायी ठेगाना भएका २० वर्षीय नवीन राईको हत्या भएको थियो ।
हत्यामा धारिलो हतियार प्रहार भएको पाइएको छ । प्रहरीले हत्याका क्रममा प्रयोग भएको धारिलो हतियार समेत बरामद गरिसकेको बताएको छ । घटनाबारे थप अनुसन्धान भैईरहेको प्रहरीले जनाएको छ ।

