सूचना प्रविधि सुशासन र समृद्धिको आधारः मन्त्री शर्मा


काठमाडाैं – सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सूचना तथा सञ्चार प्रविधि सुशासन र समृद्धिको महत्वपूर्ण आधार बन्ने बताएकी छन् ।
राष्ट्रिय युवा परिषद् र नेपाल विजनेश इन्स्च्यिुटले शनिबार सयुक्त रुपमा आयोजना गरेको ‘तेस्रो युवा उद्यमशीलता शिखर सम्मेलनअन्तर्गत ‘डिजिटल नेपालः उद्यमशीलता र नवप्रवर्तनको भविष्य’ विषयक सत्रलाई सम्बोधन गर्दै उनले लाखौं युवाहरुलाई देशभित्रै उत्पादन र सिर्जनशील काममा जोड्ने आधार पनि सूचना र प्रविधि नै भएको बताइन् ।

“एकातिर हामी डिजिटल नेपाल निर्माणको अवधारणा कार्यान्वयन गर्दै जाँदा सुशासन, विकास र समृद्धिको बाटो तीब्रताका साथ अघि बढ्नेछौं भने अर्कोतिर देशभित्र लाखौं युवाहरु उद्यमशीलता र नवप्रवर्तनमा लाग्दा राष्ट्रि तथा सामाजिक एकता कायम गर्न सफल हुनेछौं” उनले भनिन्, “तसर्थ, आजको यो महत्वपूर्ण कार्यक्रममार्फत म आम युवाहरुलाई सूचना प्रविधिको माध्यमबाट उद्यमशीलता र नपप्रवर्तनका काममा प्रवेश गर्दै आफ्नो भविष्यसँगै देशको समृद्धिमा योगदान गर्न विशेष आग्रह गर्न चाहन्छु ।”

सूचना प्रविधिको क्षेत्रमा आवश्यक नीति र कानुन निर्माणलाई सरकारले प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले नेपालमै पहिलोपटक साइबर सुरक्षा नीति पारित भएको बताइन् ।

अहिले नेपालमा बौद्धिक पलायन ठूलो समस्याको रुपमा देखिन थालेको उल्लेख गर्दै उनले नेपाली युवाहरुलाई आयआर्जनसहित देशभित्र बस्ने अवसरको सुनिश्चित गर्ने क्षेत्र नै सूचना प्रविधि हुने बताइन् ।

ज्ञानमा आधारित समाज तथा डिजिटल अर्थतन्त्रका आधार निर्माण गर्ने, डिजिटल प्रविधिको अधिकतम उपयोग गरी विकास र समृद्धिका लक्ष्यहरु हासिल गर्ने तथा आम नागरिकलाई प्रदान गरिने सार्वजनिक सेवा सरल र सहजरुपमा उपलब्ध गराउने उद्देश्यले डिजिटल नेपाल फ्रेमवर्क अवधारणा अघि सारिएको उल्लेख गर्दै उहाँले यसलाई आवश्यक परिमार्जनसहित कार्यान्वयनमा लैजान थालेको जानकारी दिइन् ।

प्रतिक्रिया