

आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रदेश सभामा

कास्की – गण्डकी प्रदेशसभाको आजको बैठकमा आमसञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रस्तुत भएको छ । बैठकमा कृषि तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीले विधेयक प्रस्तुत गरेका हुन् ।
मन्त्री जिसीले गण्डकी प्रदेशमा सञ्चालन हुने आमसञ्चार माध्यमलाई स्वतन्त्र, मर्यादित र जिम्मेवार बनाइ विचार र अभिव्यक्तिको स्वतन्त्रता तथा सञ्चारको हकलाई थप प्रभावकारी बनाउने सम्बन्धमा कानुनी व्यवस्था गर्न वाञ्छनीय भएकाले गण्डकी प्रदेशमा आम सञ्चार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सभामा प्रस्तुत गरिएको बताए ।
मन्त्री जिसीले गण्डकी प्रदेशमा बीउबीजन सम्बन्धनमा व्यवस्था गर्न बनेको विधेयक पनि प्रदेशसभाको बैठकमा प्रस्तुत गरे । बैठकमा अर्थ तथा विकास समितिका ज्येष्ठ सदस्य भोजराज अर्यालले समितिको प्रतिवेदनसहितको गण्डकी प्रदेशभित्रको वनलाइ नियमन गर्न व्यवस्थापन गर्न बनेको विधेयक सभामा प्रस्तुत गरेका थिए । अर्को बैठक आगामी असोज ४ गते बस्ने छ । रासस

